Bagmati Samachar Logo

नयाँ पार्टी गर्भबाट भ्रष्टाचार बोकेर आएको जस्तो : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको बताएका छन् ।शनिवार नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको बनाएका हुन् ।

उनले पुराना पार्टीले एक अर्कालाई भ्रष्टाचारीको आरोप लगाउने र आफू भ्रष्टाचारी नभएको प्रष्टीकरण मात्रै दिने गरेको र भ्रष्टाचार यस्तो रोग छ, नयाँ मान्छे त जन्मिएका छन्, पार्टी पनि जन्मेका छन्, तर गर्भैबाट भ्रष्टाचार बोकेर आएको जस्तो सुनिन थालिएको बताए ।

हाल भ्रष्टहरूले नै सडकमा नारा लगाउने काम गरिरहेको उनले टिप्पणी गरे । त्यसरी उनीहरूका भ्रष्टाचारलाई ढाकछोप गर्ने प्रयास गरिएको विप्लवले बताए ।

उनले भने,‘यहाँ रमाइलो कुरा तपाईं हेर्न पाउनुहुन्छ, भ्रष्टचारीहरूको जुलुस निस्किन्छ, भ्रष्टाचारीहरूकै डन्डा बर्सिन्छ । भ्रष्टाचारीहरूकै देशमा भाषण चल्छ । भ्रष्टाचारीहरूकै ठूलठूला कोकोहोलो सुन्न पाइन्छ ।’

विदेशीको इसारामा सरकार बन्छ र ढल्छ भन्नु जनतामाथिको अपमान भएको बताएका छन् । उनले भने, ‘नेपालको सरकार विदेशी शक्तिले ढाल्ने र बनाउने नेताहरूको व्याख्या जनतामाथिको धोका हो । सरकार बनाउनका निम्ति जनता चुनावमा सहभागी हुन्छन्। मुलुकको अवस्था अस्तव्यस्त छ । सरकारले जनताका पक्षमा काम गर्न सकेको छैन ।

प्रधानमन्त्रीको काम सरकार ढल्दैन भन्ने मात्र रहेको उनले बताए । उनले वर्तमान सरकार रातको १२ बजे पनि ढल्न सक्ने आभास जनतालाई भएको उनले उल्लेख गरे ।

उनले ऋणको त्रास देखाएर बीआरआई परियोजना रोक्ने र एसपीपी सम्झौता गर्ने षड्यन्त्र भइरहेको जिकिर गरे ।