दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई काठमाडौं महानगरले तोक्यो एक लाख जरिवाना
काठमाडौं । नेकपा एमालेले जागरणसभाका नाममा काठमाडौंको दरबारमार्गस्थित सडक फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तोकेको छ ।
बिहीबार दरबारमार्गस्थित एमालेले गरेको जागरणसभाका क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई जरिवाना तोकेको हो ।
महानगरले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना तोकिएको जनाएको छ ।
काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछाको हस्ताक्षरमा एमाले पार्टी कार्यालयका नाममा प्रेषित पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं।१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु।१००,०००र०० अक्षरुपी एक लाख जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’
एमालेले आज दरबारमार्गमा जागरणसभा गरेको थियो । सभालाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र महाससचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: