Bagmati Samachar Logo

पूर्वउपराष्ट्रपति पासाङ माओवादी पदाधिकारी बैठकमा सहभागी

काठामाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय हुनथालेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको योजनाअनुसार उनी माओवादी राजनीतिमा फर्किएका हुन् ।

१६ गते (सोमबार) बसेको माओवादीको पदाधिकारीको बैठकमा पासाङ सहभागी भएर सक्रिय राजनीतिको सुरुवात गरेका छन् । अध्यक्ष प्रचण्डको निवासमा बसेको पदाधिकारी बैठकमा पुन सहभागी भएका स्रोतले बताए ।

स्रोतले भने, ‘पूर्वउपराष्ट्रपति अध्यक्षलाई भेट्न आउनुभएको थियो । उहाँ दुवै जना भेटवार्ता गरिरहँदा बैठक सुरु भयो । अध्यक्षले नै एकछिन बैठकमा बसेर जानुहोस् न त भन्नुभयो । आमन्त्रित सदस्यको रूपमा बैठकमा सहभागी हुनुभयो ।’

स्रोतका अनुसार सोमबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले नै बोलाएर नै पासाङ आएका हुन् । प्रचण्डका विश्वासपात्र मानिने पुन लगभग सात वर्ष उपराष्ट्रपति भएका थिए ।

उनी २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि माओवादीबाट अलग भएका थिए । २०७९ को निर्वाचनपछि आफ्नो दोस्रो कार्यकाल सकिएसँगै उनी निष्क्रिय रहँदै आएका थिए । सिङ्गो माओवादी एक हुँदा चौथो नम्बरमा रहेका श्रेष्ठ माओवादी विभाजनसँगै तेस्रो हुँदै दोस्रो नम्बरमा पुगेका छन् । तर, पासाङको माओवादीमा इन्ट्रीसँगै पुनः श्रेष्ठ तेस्रो नम्बरमा झर्न सक्ने चर्चा माओवादीमा सुरु भएको छ ।

पासाङले पनि उपराष्ट्रपतिको समयावधि सकिएपछि माओवादी केन्द्रको सक्रिय राजनीति गर्ने इच्छा प्रचण्डसँग राख्दै आएका स्रोतहरू बताउँछन् ।

स्रोतले भन्यो, ‘उहाँले पहिलादेखि नै राजनीतिमा आउन चाहनुभएको थियो । तर, वातावरण नमिलेर आउनुभएको थिएन । अब सक्रिय राजनीतिमा आउनुहुन्छ । बैठकमा सहभागी हुनुभएको संयोग परेर होइन, योजनाबद्ध हो ।’

विशेष गरी रोल्पा, रूकुम क्षेत्रको राजनीतिक सन्तुलनका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पासाङलाई पहिलो नम्बरको उपाध्यक्षको भूमिकामा ल्याउने तयारी गरेको स्रोतको दाबी छ । माओवादी दशवर्षे जनयुद्धका बेला जनमुक्ति सेनाको कमाण्डर र लोकप्रिय नेताको रूपमा स्थापित भएका पासाङलाई पुनः राजनीतिमा स्थापित गराउने तयारी प्रचण्डको छ ।

उपराष्ट्रपति बन्दा पार्टीको भूमिकाबाट बिदा लिनुपर्ने प्रावधान छ । त्यहीअनुसार पासाङले पनि राजनीतिबाट बिदा लिएका थिए । तर, पछिल्लो समयमा उनी सक्रिय राजनीतिका लागि प्रचण्डसँग सरसल्लाहमा नै थिए । सोमबार बैठकमा नै सहभागी भएपछि पासाङ सक्रिय राजनीतिमा फर्केको माओवादीका नेताहरू बताउँछन् ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘पूर्वउपराष्ट्रपति अध्यक्षलाई भेट्न आउनुभएको रहेछ । त्यही समयमा बैठक भएकाले यसो एकछिन बस्नुभएको हो ।’ प्रचण्डनिकट भनेर चिनिएका उपाध्यक्ष कृष्णबहादुर महरा विभिन्न विवादमा तानिएका कारण राजनीतिमा सक्रिय हुन नसक्ने अवस्थामा छन् । पासाङले पनि सक्रिय राजनीति गर्ने चासो देखाएकाले महराको ठाउँमा रोल्पाकै पासाङ ल्याउन चाहेको रोल्पाका नेताहरू बताउँछन् ।

माओवादीले भन्दै आएको आधार इलाकामा नेताहरूलाई प्रचण्डले पनि बढी विश्वास गर्ने भएकाले अहिले पासाङलाई राजनीतिमा ल्याउन प्रचण्ड तयार भएको माओवादीका एक स्थायी समिति सदस्य बताउँछन् । ती सदस्यले भने, ‘अध्यक्षलाई विश्वासीलो व्यक्ति चाहिएको छ । महरा कमरेड हुनुहुन्थ्यो अध्यक्षको विश्वासिलो । त्यसपछि खासै कोही भएनन् । त्यही भएर पासाङलाई ल्याउनुभएको होला ।’

प्रचण्डको पछिल्लो समयमा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनसँग पनि त्यति साह्रो मिल्ती छैन । दुवै नेताहरूले आधार इलाका भन्दै प्रचण्डलाई पनि चुनौती दिन थालेका छन् । नेत्रविक्रम चन्द विप्लवसँग पनि पार्टी एकता हुन सकेको छैन, जसका कारण प्रचण्ड वर्षमान र जनार्दनको घुर्की सुन्दै आएका छन् । पासाङलाई पार्टीमा ल्याएर राजनीतिक सन्तुलन मिलाउन खोजेको माओवादी नेता बताउँछन् ।

रोल्पामा पासाङको राम्रो पकड छ । वर्षमान पनि कहिलेकाहीँ शर्मासँग मिल्दा प्रचण्डलाई अप्ठेरो पर्ने गरेकाले दुवैलाई टक्कर दिन पासाङलाई पार्टीमा ल्याएको हुन सक्ने बताइन्छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउने चाहना राखेको कुरा बाहिरिएको छ । भण्डारी पनि नेकपा एमालेको सक्रिय राजनीतिमा आउने चर्चा चलिरहेको समयमा पासाङ भने माओवादीको बैठकमा सहभागी भएका छन् ।

उनी सक्रिय राजनीतिमा सहभागी भएको सार्वजनिक घोषणा गरेसँगै सरकारी सेवा सुविधा त्याग्नुपर्नेछ । पासाङ सक्रिय राजनीतिक भूमिकामा आएसँगै माओवादीमा पनि आन्तरिक समीकरणमा फेरबदल हुने देखिन्छ । वरीयतामा वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ माथि हुने कि पूर्वउपराष्ट्रपतिसमेत रहिसकेका पासाङ माथि हुने भन्ने माओवादीमा बहस सुरु भएको छ । स्रोतका अनुसार प्रचण्डले आफूपछि पासाङलाई राख्ने र त्यसको घोषणा पार्टी कार्यालयबाट गर्ने तयारी गरेका छन् ।