Bagmati Samachar Logo

ओली सरकारका कारण सीमावर्ती क्षेत्रका नागरिकले दुःख पाए : प्रभु साह

काठमाडाैं  । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले सीमावर्ती क्षेत्रका नागरिकलाई भन्सार छलीको नाममा दुःख दिएको बताएका छन् । साहले सीमावर्ती क्षेत्रका नागरिकको निजी सम्पत्ति लुट्ने गरेको आरोप पनि लगाएका छन् ।

दीपावली तथा छठ पर्वको अवसरमा आज रौतहटको घिऊरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओली नेतृत्वको सरकारकै कारण सीमावर्ती क्षेत्रका नागरिकले दुःख पाइरहेको दाबी गरे।

‘नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीले भारतबाट घरेलु जफत गर्ने, कब्जा गर्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले गरिरहेको छ,’ साहले भने, ‘सीमावर्ती क्षेत्रमा भन्सार नखोल्ने, भएको भन्सार कार्यालयको स्तरोन्नति नगर्ने वर्तमान सरकारले केवल सीमावर्ती क्षेत्रका नागरिकलाई दुख मात्रै दिइरहेको छ । सीमावर्ती क्षेत्रका नागरिकलाई भन्सार कार्यालय दिनुपर्‍यो । उनीहरू कुनै समान ल्याइरहेका छन् भने उनीहरूबाट भन्सार लिनु, नकि उनीहरुको निजी सम्पत्ति नै जफत गर्ने अधिकार यो सरकारलाई छैन ।’

उनले कमिसनको लोभमा निजी सम्पत्ति कब्जा गरिएको बताउँदै उनले त्यसको हिस्सा तलदेखि माथिसम्मकाले बाँडेर खाने गरेको आरोप लगाए । सीमावर्ती क्षेत्रका नागरिकको निजी सम्पत्ति जफत गरेर भन्सारको कानूनमार्फत ४५ प्रतिशत कमिसन खाने व्यवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उनले यसका विरुद्धमा कडा आन्दोलनको आवश्यकता भएको बताए ।

प्रधानमन्त्री ओलीले विभिन्न ठुला काण्डमा मुछिएका सत्तारुढ दलका नेतालाई जोगाउने काम गरेको बताए । शान्ति सुरक्षा कायम गर्न असफल भएको दाबी गर्दै उनले अहिले सबै क्षेत्रमा सरकारकारी आतङ्क मच्चाइएको बताए ।