वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन थापाको योगदान धेरै छ : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठुलो भूमिका रहेको बताएका छन् ।
शनिबार काठमाडौँमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले क्याप्टेन रामेश्वर थापाले आफू र प्रधानमन्त्री ओलीलाई नजिक ल्याउने काम गरेको बताए ।
उनले भने , ‘उहाँले पहिल्यैदेखि मलाई व्यक्तिगत रूपमा पनि धेरै ठुलो मद्दत गर्नुभएको छ । पार्टीलाई पनि । यस कारण रामेश्वर थापाजीलाई केपी शर्मा ओलीको पार्टीको नजिकको भनेतापनि उहाँ सबैको समर्थक, सबैलाई सहयोग गर्ने व्यक्ति हो । मैले त्यसै रूपमा लिएको छु । यो कुरा लुकेर लुक्ने कुरा छैन । ओलीजी र मेरोबिचमा नजिक ल्याउने काममा, यो गठबन्धन बनाउने काममा पनि उहाँको धेरै ठुलो योगदान छ । धेरै ठुलो मद्दत गर्नुभएको छ । यस कारण म हाम्रो पार्टीको तर्फबाट हार्दिक–हार्दिक धन्यवाद दिन चाहन्छु ।’
सभापति देउवाले नेपालको शान्ति प्रक्रिया, राजनीतिक स्थिरता र विकासका लागि थापाले महत्वपूर्ण पहल गर्दै आएका भन्दै प्रशंसा गरे ।
प्रतिक्रिया दिनुहोस्: