Bagmati Samachar Logo

राष्ट्रिय पार्टी बन्न नसक्ने दलका सांसद स्वतन्त्र हुनुपर्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय पार्टी बन्न नसकेका दलका सांसदहरुलाई स्वतन्त्र सांसदको हैसियत दिनु पर्ने बताएका छन् । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
पोखरेल पछिल्लो समयमा नेपालमा दुई दलिय व्यवस्था हुनु पर्ने धारणा राख्दै आएका व्यक्ति हुन् ।

नेपालमा जो कमजोर छ राज्य सत्ता सञ्चालनमा ऊही निर्णायक हुँदा राजनीतिक अस्थिरता मौलाएको र यो रोक्न पनि दुई दलीय व्यवस्था हुनु पर्ने बताउदै आएका छन् । महासचिव पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नुपर्ने बताए ।

लोकतन्त्रको मूल मान्यता नै सबैभन्दा बलियो राजनीतिक दलले शासन गर्ने भएको पोखरेलले प्रस्ट पारे । ‘लोकतन्त्रमा जहिले पनि शासन गर्ने भनेको बलिया पार्टीले नै हो’, उनले भने । कानुनको सुधारद्वारा लोकतन्त्रलाई थप बलियो बनाउन सकिने उनको धारणा छ । नेपालको कानुनले नै पार्टीहरूलाई बलिया हुन रोकेको पोखरेलले टिप्पणी गरे । ‘कतिपय कानुनमा सुधार गर्दा पनि स्थायित्वको आधार बलियो बनाउन सकिन्छ’, पोखरेलले भने ।

कानुनले राष्ट्रिय पार्टी बन्न नसकेका दलका सांसदलाई पनि पार्टी छाड्दा कारबाही हुने प्रावधान राखेर दलहरूलाई बलिया हुनबाट रोकेको उनले बताए । जो राष्ट्रिय पार्टी हुँदैनन् उनीहरूका सांसद स्वतन्त्र हुन्छन् भन्ने कानुनी व्यवस्था भएको भए देशमा पार्टीको सङ्ख्या स्वतः कम हुने स्थिति बन्ने पोखरेलको धारणा छ ।

त्यस्तो व्यवस्था भएको भए राष्ट्रिय दल बन्न नसकेका दलका सांसदले आफ्नो राजनीतिक भविष्य निर्माणको लागि स्वतः बलिया राजनीतिक पार्टी खोज्ने परिस्थिति बन्ने उनको भनाइ छ । ‘साना राजनीतिक दललाई राजनीतिमा बलशाली बनाउने काम कानुनले गरेको छ’, उनले भने ।

जनताको बहुमत प्राप्त नयाँ राजनीतिक दल रातारात जन्मिने परिस्थिति नभएको पनि उनले स्पष्ट पारे । अहिले नेपालमा जुन प्रकारको अस्थिरता छ, यही अस्थिरताको बीचमा नागरिकको लोकतन्त्रप्रतिको भरोसा जोगाएर राख्न नसकिने पोखरेलले बताए । त्यसैले मुलुकलाई बरबाद हुनबाट जोगाउन ठूला राजनीतिक दलले पहल लिनु परेको उनको भनाइ छ ।

पोखरेलले यतिबेला दक्षिण एसियाको राजनीति निकै जटिल बन्दै गएको बताउँदै त्यसैले सचेततापूर्वक अघि बढ्नु पर्नेमा जोड दिए । दक्षिण एसिया राजनीति द्वन्द्वको चपेटामा परेको उनको धारणा छ । व्यक्तिगत पुँजीवादको टकराब कति बलियो हुन्छ भन्ने कुरा श्रीलङ्काबाट सिक्न जरुरी रहेको उनले बताए । वित्तीय पुँजीवादको आपसको द्वन्द्व र वित्तीय संस्थाहरूको व्यापारिक टकराबले श्रीलङ्कामा द्वन्द्व निम्त्याएको उनले बताए ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यमको दुरुपयोगले पनि समाज अराजक बन्ने पोखरेलले बताए । त्यो अराजकताले देश नै बरबाद बनाउन सक्ने उनको धारणा छ । आर्थिक विकास वा भौतिक विकासले मात्र नागरिकका आवश्यकता र भावना सम्बोधन गर्न सकिँदैन भन्ने कुराको पाठ बङ्गलादेशबाट सिक्नु पर्नेमा उनले जोड दिए ।