अरु दलका नेताहरूले माओवादी जनयुद्ध भन्दा जातै जाने जस्तो गर्नुभयो : प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्य राजनीतिक दलका नेताहरूले ‘माओवादी जनयुद्ध’ भन्दा जातै जाला जस्तो गरेका बताएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा टीआरसीसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले ‘माओवादी जनयुद्ध’लाई संविधानसभाले पारित गरेको स्मरण गराए ।
‘माओवादी जनयुद्ध भन्दा जातै जाला जस्तो गर्नुहुन्छ । जबकि संविधानसभाबाट माओवादी जनयुद्ध भनेर लेखिएको छ । सभाको ध्यानाकर्षण गर्न चाहान्छु कि त्यहि प्रस्तावनाको अनुच्छेद तीनमा छलफल हुँदा तत्कालीन समितिको सभापति कांग्रेसका पूर्णबहादुर खड्का नेतृत्वको समितिले गरेको निर्णय हो र संविधानसभाद्वारा पनि पारित भएको छ,’ उनले भने ।
प्रस्तावनाको अनुच्छेदमा ‘माओवादी जनयुद्ध’ रहेको प्रचण्डले बताए । ‘अनुच्छेद तीनमा माओवादी जनयुद्ध लगायत सबै आन्दोलनको नाम उल्लेख गर्ने वा माओवादी जनयुद्ध लगायत सबै आन्दोलनको नाम ब्याख्यात्म टिप्पणी राख्ने छलफल हुँदा माओवादी जनयुद्धको नाम राख्ने भन्ने निर्णय भएको छ यो कुराको स्मरण रहोस् । संविधानसभाबाट पारित भएको यो ब्याख्यात्मक टिप्पणीलाई माननीय सदस्यहरूको ध्यानाकर्षण गराउन चाहान्छु,’ प्रचण्डले भने ।
उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँदै गर्दा भएका सहमतिलाई विस्मृतिमा लैजाने काम गर्न नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्: