Bagmati Samachar Logo

सचिवालय बैठकमा नेपालले भने : हिजो त फोटोसेसन भएछ मलाई बोलाएको भए आउथे

काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा नेताहरुबीच घोचपेच भएको छ ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले बुधबार सम्मानीत नेता झलनाथ खनालले महासचिव घनश्याम भुसालबीच भएको भेटवार्ता र छलफलका बारेमा कडा टिप्पणी गरेका छन् । नेपाललले बैठकमा हिजो त कमरेडहरुबीच फोटो सेसन गजबले भएछ , छलफलमा एकले अर्को मिलेर जाने भन्ने निर्णय भएछ । मलाई बोलाएको भए मपनि आउथे छलफल हुन्थ्यो । म पनि मिलेर जान्थे भन्दै व्यङग्य गरेका बैठकमा सहभागी एक नेताले बताए । ती नेताले भने ,‘बैठकमा धेरे घोचपेच त भएन अध्यक्ष कमरेडले हिजो त मिलेर जाने कुरा भए छ नि ? फोटो सेसन पनि भएको रहेछ । बोलाएको भए हामी पनि आउथ्र्यौ भनेर भन्नु भयो ।’

खनाल र भुसालभने बैठकमा अध्यक्षको व्यङग्यप्रति मौन रहेका थिए । बैठकमा नेपालले खनाल र भुसालबीच भएको गठबन्धन प्रति चासो दिएका भएपनि खनाल र भुसाल पक्षले भने त्यसमा चर्चा नै नगरेको बैठकमा सहभागी अर्का पदाधिकारीले बताए ।

नेकपा एसको १०औँ महाधिवेशनमा तीन जना अध्यक्षको आकांक्षि थिए । बुधबार खनालले आफ्नो विचारको नेता महासचिव भुसाल हुने र मिलेर जाने भन्दै समर्थन जनाएपछि महाधिवेशन दुई पक्षमा विभाजित भएको छ । अध्यक्ष नेपाल पक्ष र खनाल–भुसाल पक्ष ।

पार्टी विभाजन भएको ३३ महिनामा महाधिवेशन भइरहदा पनि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कमरहेको नेताहरु बताउछन् ।

‘खनालले आफूलाई सर्वसम्मत समर्थन गर्ने आसमा रहेका अध्यक्ष पक्षकाहरुले आज बैठकमा सम्मानीति नेता र महासचिवलाई व्यङग्य गर्न थाल्नु भयो । हिजोको माहोलले आज संस्थापन पक्षहरु अलि बढी रुष्ट जस्तो देखिनु भयो,’ एक पदाधिकारीले भने,‘ उहाँहरुमा सम्मानीत नेता र महासचिव मिलेको भन्ने हिजोको सन्देशले असर गरेको आजको बैठकमा देखियो । पार्टीमा विचार फरक हुन्छ समुह फरक हुन्छ तर उहाँहरुले पचाउन सक्नु भएन ।’

खनाल निवास डल्लुमा बुधबार खनाल र भुसालबीच भएको बैठकमा घनश्याम भुसाललाई अगाडि बढाउन खनाल सहमत भएका हुन् ।

बुधबार खनाल र भुसालबीच खनाल निवास डल्लुमा छलफल भएको थियो । उक्त छलफलमा प्रकाश ज्वाला, जीवनराम श्रेष्ठ, नरेश शाही र सन्दिप राई सहभागी थिए । पहिलो चरणको छलफलमा उनीहरूवीच सामूहिक छलफल भएको थियो । उक्त छलफलमा खनालले अगाडि सारेको समाजवादी कार्यक्रमलाई भुसालले साथ दिने र नेतृत्वमा भुसाललाई खनालले साथ दिने सहमति भएको छ ।

बिहिबार विधानको बारेमा र अन्य विषयमा छलफल गर्न बसेको सचिवालय बैठकले महाधिवेशनबाट २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने व्यवस्था गर्ने निर्णय गरेको छ ।

पार्टीमा सम्मानीत नेताको मात्र व्यवस्था थियो महाधिवेशनबाट सम्मानित नेता र वरिष्ठ उपाध्यक्षको पनि व्यवस्था गर्ने भएको उपमहासचिव तथा प्रवक्त जगनाथ खतिवडाले बताए ।

उनले भने,‘सात उपाध्यक्षमध्ये महिला र मधेशी एक–एक र बाँकी खुल्ला रहने छ । यसैगरी, चार उपमहासचिव र सात सचिव बनाउने निर्णय बैठकले गरेको छ । पदाधिकारी २१ सदस्यीय हुने व्यवस्था गरेको छ ।’

अध्यक्ष नेपाल सर्वसम्मत आफू अध्यक्ष हुने तयारीमा लागेका थिए । नेपालपक्षले अहिलेकै नेतृत्वलाई निरन्तरता दिन माग गर्दै पनि आएको छ । तर हिजोको डल्लु भेटघाटले नेकपा एसको नेतृत्वमा रस्साकस्सी बढेको छ ।

महासचिव भुसाल र उनको टिमले यो महाधिवेशनलाई पुस्तान्तरणको रूपमा लिएका छन् । खनालले साथ दिएपछि भुसाल पक्षहरु उत्साहित बनेका छन् ।