हाम्रो पार्टी विवेकशील बन्ने बाटोमा छ भन्दा म महामन्त्रीबाट हटाइनसक्छु : मुकुल ढकाल
काठमाडौं । कार्यकर्ता भेट्न देश दौडाहा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले आफ्नो पार्टी विवेकशीलजस्तो क्षीण अवस्थामा पुग्ने सम्भावना रहेको निष्कर्ष निकालेका छन् । उनले पार्टीबारे गरेको समीक्षा प्रतिवेदन बुधबार साँझ पार्टी सभापतिसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाउने तयारी गरेकाछन्।
पार्टी सभापति गृहमन्त्री भएकाले मन्त्रालयमा गएर प्रतिवेदन बुझाउने र प्रतिवेदनको पहिलो पाना सार्वजनिक गर्ने ढकालले बताए । प्रतिवेदन सार्वजनिक गर्ने विषय भने सभापतिमा निहित रहने उनले बताए ।
महामन्त्री ढकालले प्रतिवेदनमा पार्टी दुर्घटनाउन्मुख रहेको निष्कर्ष निकालेका छन् । प्रतिवेदनमा उनले महाभारतको दृष्टान्तसमेत दिएका छन् । ‘पाँच पाण्डवमध्ये सहदेवलाई पाण्डुको मृत्युपछि त्रिकालदर्शनको शक्ति प्राप्त भएको थियो । उनलाई भूत, भविष्य र वर्तमान देख्ने गरी त्रिकालदर्शनको शक्ति प्राप्त थियो । त्रिकालदर्शी सहदेवले भविष्यको घटना बताऊलान् भनेर श्रीकृष्णले सहदेवलाई आफूलाई थाहा भएको केही कुरा कसैलाई बताए मृत्यु हुने श्राप दिए, त्यसैले महाभारतमा सहदेवलाई सबै थाहा भए पनि उनी चुप बसे,’ महाभारतको एउटा सन्दर्भ उल्लेख गर्दै उनले भनेका छन् ।
तर उनले आफू भने सहदेव नबन्ने बताएका छन् । उनले पार्टीको जनमत अत्यन्त कमजोर रहेको र यही अवस्थामा चुनाव भए मुस्किलले राष्ट्रिय पार्टी बन्ने लेखेका छन् । ‘पार्टीको वर्तमान भनेको जनमत छैन, जनमत जति छ, त्यसको आधारमा आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा १–२ सिट जित्ला । भोलिका दिनहरू आजकै स्थितिअनुसार अघि बढे, पार्टीको हालत विवेकशीलसरी हुनेछ,’ उनले प्रतिवेदनमा लेखेका छन् ।
उनले पार्टीको खराब अवस्था आउन सक्नेतर्फ सचेत गराएका छन् । ‘यो भविष्यलाई नजिकबाट देखेपछि भन्नु वा लेख्नु उपयुक्त हुन्छ वा हुँदैन भन्ने प्रश्न मनमा आयो । भागवत गीतालाई मैले सधैँ मानेको छु, र श्रीकृष्णको वचनलाई सधैँ टेरेको छु । यहाँ श्रीकृष्णले नभन्नु भनेका रहेछन् । तर पार्टीलाई जन्मदाताकै रूपमा होस्, वा नेपाली जनताको आशाको रूपमा रहेकाले मलाई मेरो पार्टीप्रति माया छ, चिन्ता छ,’ प्रतिवेदनमा उल्लेख छ ।
महामन्त्री ढकालले दुर्घटना हुँदै छ भन्दा महामन्त्रीबाट हटाउनेमात्र नभएर घोक्राएर पार्टीबाट निकाल्न पनि सक्ने उल्लेख गरेका छन् । ‘श्रीकृष्णका अनुसार मेरो अर्थात् महामन्त्री पदको मृत्यु पनि हुनसक्छ, अर्थात मलाई घोक्राएर पार्टीबाट निकाल्न पनि सक्छन् । आगामी राजनीतिक जीवनका लागी यो घातक सावित हुनेछ । तथापि यो पटक श्रीकृष्णका वाणीभन्दा एउटा धुन मनमा बढी गुञ्जियो– म मरे पनि, मेरो देश बाँचिरहोस्, म नरहे पनि मेरो पार्टी बाँचिरहोस् १,’ प्रतिवेदनमा लेखिएको छ । उनले ६ जेठ देखि ५ असारसम्म ३९ जिल्लाका २०७९ नेता–कार्यकर्तासँग अन्तरक्रिया गरेको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्: