संसदमा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउँछौँ : पूर्वप्रधानमन्त्री देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रतिपक्षको भूमिका कमजोर भएको बताएका छन् । उनले संसदमा नेपाली कांग्रेसको भूमिका कमजोर भएकाले अब थप प्रभावकारी ढंगले प्रस्तुत हुने बताए।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको महेशपुरमा स्वर्गीय पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्क उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले जनजीविकाका सवालमा प्रतिपक्षले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने उल्लेख गरे । उनले नवलपरासीमा महेशपुर मूल भन्सार भएर पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेकाले यसको भौतिक एवं प्रशासनिक सुधारका लागि पहल गर्ने आश्वासन पनि दिए ।
पूर्वगृहराज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेलका पिता पृथ्वीराज कँडेलको स्मृतिमा बसपार्कको नामकरण गरिएको र अर्धकदको सालिक निर्माण गरिएको हो । स्व कँडेल २०१५ सालमा पाल्हिमाझ खण्ड पूर्वीनिर्वाचन क्षेत्र नं ५७ बाट निर्वाचित सांसद थिए ।
संघीय सरकारको एक करोड, पाल्हीनन्दन गाउँपालिकाको १३ लाख गरी कुल एक करोड १३ लाख लागतमा बसपार्क निर्माण भएको बसपार्कका संरक्षक देवेन्द्रराज कँडेलले जानकारी दिए ।
यस्तै पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले आजै नवलपरासीको परासीमा पार्टीका नेता तथा कार्यकर्तासँग अन्तर्क्रिया गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: