सिंहदरबारमा प्रधानमन्त्री, ओली र गृहमन्त्रीबीच छलफल
काठमाडौं । सिंहदरबारमा प्रधानमन्त्रीसहित सत्तारूढ तीन पार्टीका शीर्ष नेताहरुको छलफल भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल भएको हो।
छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले आफूले सदनमा बोल्न पाउनुपर्ने बताए।
‘ममाथि निरन्तर रूपमा उहाँहरूले आरोप लगाएपछि मैले एकपटक सदनमा जबाफ दिन पाउनुपर्छ, त्यसपछाडी कुराकानी गर्न सकिन्छ,’ उनले भने, ‘बोल्न पनि नदिने अनि किन डराएको भन्नेरु एक पटक कुरा सुन्न डराउनुपर्छ र ?’
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसप्रति लक्षित गर्दै लामिछानेले आरोप लगाएको मानिसको एक पटक कुरा सुन्नुपर्ने उनले बताए।
मंगलबार बस्ने संघीय संसदको संयुक्त बैठकमा सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। तर कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरे सदन अवरोध कायमै राख्ने चेतावनी दिइरहेको छ।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।
गृहमन्त्री लामिछानेले आफूमाथि लागेका आरोपमाथि जबाफ दिन पाउनुपर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्: