Bagmati Samachar Logo

प्रधानमन्त्रीको लिखित सहमति मागेका माधव नेपाल गठबन्धनका लागि तगारो

काठमाडौं । वर्तमान सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पावर सेयरीङमा आफूलाई प्रधानमन्त्रीको लागि लिखिति सहमति मागेको खुलेको छ । नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आफूलाई एक वर्षको प्रधानमन्त्री बनाउन लिखित गर्नु पर्ने माग गरेका थिए । उक्त माग दुबै नेताबाट पुरा नभएपछि नेपाल रुष्ट बनेका गठबन्धनका नेताहरु बताउछन् ।

पुरानो गठबन्धनमा नेपालले एक वर्ष प्रधानमन्त्री पाउने सहमति भएको थियो तर नयाँ गठबन्धनमा नेपालको कहीँकतै प्रधानमन्त्रीमा चर्चा नभएपछि लिखित सहमति मागेका थिए । लिखित सहमति पनि प्रचण्डपछि आफ्नो पालो आउनु पर्ने गठबन्धनका शिर्ष तीन जना नेताको बैठकमा प्रस्ताव राखेको बालुवाटार स्रोत बताउछ । स्रोतका अनुसार तीन जना नेताहरु भएको बैठकमा प्रधानमन्त्रीका लिखित सहमति हुनु पर्ने, त्यो पनि प्रचण्ड भन्दा पछि हुनु पर्ने माग राख्नु भएछ त्यो तत्काल लिखित नहुने भएपछि उहाँ रुष्ट बन्नु भएको हो ।

२३ फागुनमा नेकपा एसले सचिवालय बैठकबाट नयाँ गठबन्धनमा सामेल हुने निर्णय गरेर नयाँ गठबन्धनमा सहभागी भएको थियो ।

त्यसपछि एस सरकारमा सामेल भयो । दुई मन्त्रालय भागमा परेपछि सरकारमा सामेल भएको एसले पावर शेयरिङमा आफूलाई पनि सम्मानजनक रूपमा सामेल गर्नुपर्ने माग राख्दै आएको थियो । त्यो भनेको प्रचण्ड र ओलीबीच हुने भागवण्डामा आफ्नो हिस्सा हुनुपर्ने उसको भनाइ थियो । अझ प्रचण्ड र ओली आलोपालो प्रधानमन्त्री बन्दा आफूले प्रचण्डपछि नै प्रधानमन्त्री हुने अवसर पाउनु पर्ने माग थियो । तर त्यो सुनाइ नभएपछि ओली र प्रचण्डसँग रुष्ट बनेका हुन् ।

गठबन्धनमा नेकपा एस सहभागी हुँदा राष्ट्रियसभाको उपाध्यक्ष नेकपा एसलाई दिने मौखिक सहमति गरे पनि त्यो सहमति कार्यान्वयन नभएपछि अध्यक्ष नेपाल गठबन्धनप्रति झन रुष्ट बनेका छन्। नेकपा एसका एक नेताले भने, ‘गठबन्धन बनेपछि आफैँ घरमा आएर गठबन्धनमा सहभागी हुनुपर्‍यो, मिलेर जाऊँ भन्ने प्रस्ताव प्रचण्ड र ओलीले गर्नुभयो । तर, अहिले आएर प्रयोग मात्र गर्नुभयो । यहाँसम्म कि हामीलाई राष्ट्रियसभामा उपाध्यक्ष दिने मौखिक सहमति गर्नुभयो । तर, त्यो एमालेले लियो । हामीले राष्ट्रियसभामा राष्ट्रपतिले मनोनीत गर्ने सदस्यको कोटा माग्दा पनि एमालेले लिएपछि प्रचण्ड र ओलीको साक्षी बस्नुभन्दा बाहिरिनु ठीक भन्ने निष्कर्षमा अध्यक्ष नेपाल पुग्नुभयो ।’

यसरी गठबन्धनमा आफूलाई किनारामा पारिएको महसुस गरेका अध्यक्ष नेपालले सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेस हुँदा कांग्रेससहितको गठबन्धनमा समर्थन जनाउन प्रदेशका नेताहरूलाई संकेत गरेपछि भयो पनि त्यस्तै, जसले सुदूरपश्चिममा देखा परेको गठबन्धनभित्रको चिराले बालुवाटारलाई पनि झस्काएको छ । र, सोमबार बिहानैदेखि काठमाडौंमा नयाँ गठबन्धन बन्न सक्ने चर्चा भएको छ ।

अहिले गठबन्धनमा नेकपा एसले तत्काल एक प्रदेशको मुख्यमन्त्री चाहेको छ ।
संघीय सरकारमा दुई मन्त्रालय पाए पनि राष्ट्रियसभाको उपाध्यक्ष र सदस्य नपाएपछि रुष्ट बनेका नेपाललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने वचन ओली–प्रचण्डले दिएको तर अन्तिममा ओलीले मानेनन् भनेर प्रचण्डले बताएपछि गठबन्धनप्रति झन् रुष्ट बनेर सुदूरपश्चिममा गठबन्धनभन्दा फरक चाल चलेको नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले शिलापत्रलाई बताए । उनले भने, ‘सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री हाम्रो पार्टीलाई दिने सहमति भएको थियो । आइतबार हठात् प्रचण्ड र ओलीजीले निर्णय परिवर्तन गर्नुभयो । नागरिक उन्मुक्तिको पनि रञ्जिताजी समूहलाई मुख्यमन्त्री दिने हुनुभयो । हाम्रो मुख्यमन्त्री पाउने अवसर खोस्नुभयो । हामीले पनि त्यसका विरुद्ध कार्यनीतिक चाल चलेका हौँ ।’

नेपालले अनावश्यक रूपमा गठबन्धनमा अन्योल ल्याउने र बार्गेनिङ गर्ने गरेको आरोप अध्यक्ष ओलीले एमाले संसदीय दलको बैठकमा लगाएका छन् । उनले सोमबार बैठकमा भने, ‘सही दिशामा राजनीति फर्किंदै थियो । विपक्षीहरूमा आशा पलाउने गरी, जनतामा आशंका, निराशा पैदा हुने गरी, नेकपा एसले कदम चाल्यो । त्यसका बोली, व्यवहार, बार्गेनिङ, आन्तरिक रूपमा छँदै थिए । तर, हिजो बाहिर नै प्रकट भयो ।’

यसबाट पनि प्रस्ट हुन्छ कि अध्यक्ष नेपाल गठबन्धनमा आफूप्रति गरेको व्यवहारले सन्तुष्ट थिएनन् । जसको विस्फोट सुदूरपश्चिमबाट भएको छ ।