Bagmati Samachar Logo

अब मसँग पैसा पनि हुन्छ, लडाइँ पनि गर्छु : दुर्गा प्रसाई

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले अब पैसा पनि हुने भएकाले लडाइ पनि जारी राख्ने बताएका छन् । करिब २० दिनको भारत भ्रमणपछि आइतबार स्वदेश फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले उक्त कुरा बताएका हुन् ।

बुधबारमात्र सर्वोच्च अदालतलेले १३ वर्षदेखि अल्झिएको उनको झापाको बी एण्ड सी मेडिकल कलेजले सम्बन्धन दिनु भनि फैसला गरेको छ । अब उनले सम्बन्धन पाउने बाटो खुलेको छ।

अदालतले बुधबार प्रसाईंको अर्बौँ लगानी भइसकेको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको थियो । न्यायाधीशहरू डा.कुमार चुडाँल र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पुगेको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन नरोक्न आदेश जारी गरेसँगै प्रसाईंले दुई योजना पनि सुनाउन भ्याएका छन् ।

पत्रकारहरुसँग उनले भने, ‘अब मसँग पैसा पनि हुन्छ, लडाइँ पनि गर्छु ।’ आफूले आन्दोलन गर्नुको कार भने राष्ट्र बचाउन भएको दाबी गरे । ‘देश बचाउने हो । भूइमान्छे बचाउने हो,’ उनले भने,‘राजनीतिक दलका नेताहरुले नबोलेका कारण आफू गरिबको पक्षमा बोलेको हुँ । अभियानअनुसार जुम्लामा २२, दाङमा २४ गते र इलाममा ६ गते कार्यक्रम गर्छु । मलाई राज्यले पक्राउ गर्न खोजेको छ । पक्रेर देखाओस् ।’

सोही क्रममा प्रसाईंले आफूले बैंकबाट लिएको सबै ऋण तिर्ने पनि बताएका छन् । उनले आफूले कहिल्यै पनि बैंकको ऋण तिर्दिनँ नभनेको जिकिर गरे ।

प्रसाईंले भने, ‘एफिलेसन आयो, कलेज चल्छ, म बैंकको पैसा तिर्छु । मैले बैंकको पैसा तिर्दिनँ भनेर कहिल्यै भनेको छैन । तिमीले ७ प्रतिशत ब्याज किन १७ प्रतिशत बनायौँ रु गरिबको ऋण तिरिदेउ न सरकार पो भनेको ।’