Bagmati Samachar Logo

नयाँ गठबन्धन बनाइएको हो, वामपन्थी शक्ति एकै ठाउँमा ल्याइन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको बताएका छन् । बागमती प्रदेश समितिमा रहेका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर नयाँ गठबन्धन बनाइएको स्पष्ट पारे ।

उनले हालको सत्ता गठबन्धनलाई लामो समयसम्म लैजाने सोच र लक्ष्यका साथ पार्टीले निर्णय गरेकाले त्यसलाई अक्षरस ः लागू गरिने बताए । गठबन्धन परिवर्तन गर्ने निर्णय एकाएक नभएको उल्लेख गर्दै उनले वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने लक्ष्य राखिएको बताए ।

पछिल्लो एक वर्षको अनुभवका आधारमा नयाँ निर्णय लिनु नै सुरक्षित उपाय भएको प्रधानमन्त्रीको भनाइ रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डीपी ढकालले जानकारी दिए । प्रदेश सरकारको विषयमा केही समयभित्रै आवश्यक निर्णय लिइने उनको भनाइ छ ।

सङ्घीय सरकारमा परिवर्तन भएलगत्तै प्रदेश सरकारको बारेमा पनि निर्णय लिनुपर्ने अवस्था आएको भन्दै उनले गठबन्धनमा आवश्यक छलफल गरेर उपयुक्त निर्णय लिइने बताए । उनले काठमाडौं उपत्यकामा कमजोर रहेको पार्टीलाई नयाँपन दिएर अगाडि बढाउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

उपत्यकाको आवश्यकता र चाहनालाई ख्याल गरेर जनतासँग जोडिन, सङ्गठन सुदृढ गर्न रचनात्मक उपाय अवलम्बन गर्नुपर्नेमा उनको जोड थियो । सरकारले गरेका जनपक्षीय काम कारवाहीको बारेमा जनतालाई बुझाउनसमेत प्रधानमन्त्रीले आग्रह गरे ।