माओवादीमा को को छन् मन्त्रीको दौडमा
काठमाडौं । नेपालमा सत्ता गठबन्धन फेरिएपछि सबैभन्दा पहिला सुरु हुन्छ मन्त्रीको बन्नेको दौडधुप । नेकपा माओवादी केन्द्रभित्र मन्त्री बन्न नेताहरूको दौडधुप सुरु भएको छ ।
सत्ता गठबन्धनमा मन्त्रालयको भागवण्डा अहिलेसम्म मिल्न सकेको छैन । तर, मन्त्रीका लागि आकांक्षा राख्नेहरू भने दौडधुपमा लागि सकेका छन् ।
कांग्रेस(माओवादी केन्द्रबीचको गठबन्धन हुँदा मन्त्री भएका केही दोहोरिन चाहेका छन् । निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रीमा दोहोरिन लबिङ थालेका छन् । निवर्तमान गृहमन्त्री श्रेष्ठ मन्त्रीमा दोहोरिन चाहेको उनीनिकट एक नेताले बताए ।
मन्त्रीमा दोहोरिन चाहेका श्रेष्ठले आफू नभए सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका जगत पार्कीलाई आफूले रोजेको मन्त्रालयमा पठाउने तयारी गरेको एक माओवादी नेता बताउँछन् ।
उपमहासचिव वर्षमान पुन भने अर्थमन्त्री हुने लगभग पक्का भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनलाई अर्थमन्त्री बनाएर लोकप्रिय बजेट ल्याउन र केही सुधारको काम गर्न खोजेको एक नेताले बताए ।
यस्तै, मन्त्रीका लागि बागमती प्रदेशबाट माधव सापकोटा, लेखनाथ दाहाल र लुम्बिनीबाट नारायणी शर्माको पनि नाम चर्चामा छ । लुम्बिनी प्रदेशतर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित झक्कुप्रसाद सुवेदी र राष्ट्रियसभा सदस्य नारायण दाहालले पनि मन्त्रीका लागि लबिङ थालेका छन् ।
यसैगरी, कोशी प्रदेशबाट अमनलाल मोदीले पनि मन्त्रीका लागि दाबी गरिरहेका छन् । उनले पहिला मन्त्री हुँदा आफूले काम गर्न नपाएकाले यसपटक मौका पाउनुपर्ने दाबी गरिरहेका छन् । कोशीबाटै सांसदहरू रामकुमार राई र दुर्गा राईले पनि मन्त्रीमा दाबी गरेका छन् ।
कर्णाली प्रदेशबाट कालीकोटका महेन्द्रबहादुर शाही मन्त्रीको दौडमा छन् । जुम्लाबाट छिरिङ लामु लामाले पनि मन्त्री हुने आसा राखेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्: