ओलीको जन्मदिन माओवादी एमाले मिलाउने कडि
सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच पुनर्मिलन भएर सत्तागठबन्धन बनेको छ ।
११ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनमा बिहान पाँच बजे नै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त शुभकामना दिन बालकोट पुगेका थिए ।
जन्मदिनको अवसर पारेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र पुन बालकोट पुगेका थिए । उनी एमाले अध्यक्ष ओलीको जन्मदिन मनाउन केकसहितको सर्प्राइज दिनमात्र बालकोट पुगेका थिएनन्, कांग्रेसले सरकारलाई साथ नदिएकाले , अख्तियारले डामेका मन्त्री हटाउन नदिएपछि प्रधानमन्त्री अफ्ठारोमा परेकोबारेमा छलफल भएको थियो ।
स्रोतले भन्यो, ‘केपी शर्मा ओलीको बिहानै पुन केक बोकेर बालकोट पुग्नुभएको थियो । भेटमा पुनले ओलीलाई मिलेर जाने प्रस्ताव गर्नुभएको छ ।’ प्रधानमन्त्री प्रचण्डले नै पुनलाई बालकोट खटाएको माओवादी स्रोत बताउँछ ।
ओलीले पुनसँगको भेटमा सरकारले तुरुन्त गर्नुपर्ने कामका बारेमा पनि जानकारी गराएका थिए । उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई तुरुन्त हटाउनुपर्ने बताएका थिए । ओलीको अर्को माग भने दुर्गा प्रसाईंलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने थियो । प्रसाईंले अनर्गल हल्लाहरू चलाएर कुप्रचार गरेको, संविधान तथा व्यवस्था विरोधी भाषण गरेको र बैंक तथा उद्योगविरुद्ध अनर्गल प्रचार गरेकाले सरकारले तुरुन्त पक्राउ गरेर कारबाही गर्नुपर्ने माग ओलीले राखेको स्रोतको भनाइ छ ।
गत वर्ष पनि माओवादी–एमाले गठबन्धन बनाउनमा पुनको बढी सक्रियता थियो । माओवादी–एमाले मिलेर गठबन्धन बनाएपछि पुन उपचारको लागि चीन गएका थिए । तर पुन चीनमा उपचार गराइरहँदा यहाँ माओवादी–एमाले गठबन्धन भत्केको थियो ।
अहिले आएर फेरि माओवादी एमाले नजिकिन थालेका छन् । गत वर्ष पुसमा भएको माओवादी–एमाले गठबन्धन दुई महिनामात्र टिकेको थियो । अहिले फेरि माओवादी र एमाले नजिक हुनमात्र थालेका छैनन्, फागुनमा पुनः नयाँ गठबन्धन बन्ने तयारी सुरु भएको माओवादी उच्च स्रोत बताउँछ ।
राष्ट्रियसभाको निर्वाचनभन्दा पहिला नै माओवादी एमाले मिल्ने गरी आन्तरिक छलफल भएको थियो । माओवादीले राष्ट्रियसभाको अध्यक्ष नछोड्ने उपमहासचिव पुनले यो भन्दा पहिला नै घोषणा गरिसकेका थिए ।
कांग्रेसले कोशी प्रदेशमा राष्ट्रियसभाको निर्वाचनमा धोका दिएको विश्लेषण माओवादीले गरेको छ । त्यही भएर पनि माओवादी कांग्रेससँग झस्केको बताइन्छ । सुरुमा कांग्रेसलाई राष्ट्रियसभाको अध्यक्ष दिन माओवादी तयार थियो । तर कांग्रेसका कृष्णप्रसाद सिटौलाले निर्वाचन जिते पनि माओवादीको चम्फादेवी कार्कीले निर्वाचन हारेपछि माओवादी कांग्रेससँग सशंकित भएको थियो ।
जसरी पनि राष्ट्रियसभाको अध्यक्ष आफू लिने तयारीमा माओवादी थियो । पछिल्ला दिनहरुमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पनि भेटवार्ता भइरहेका थिए । ८ गते (मंगलबार) प्रधानमन्त्री प्रचण्ड र ओलीबिच सिंहदरबारमा भेटवार्ता भएको थियो । अध्यक्ष ओली एमालेको च्यासलमा चलिरहेको केन्द्रीय समिति बैठकपछि प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए ।
उक्त भेट साँझ पौने छ बजेदेखि साढे ७ बजेसम्म भएको थियो । भेटवार्तामा शान्ति प्रक्रियाबारे कुरा भएको बालुवाटार स्रोतले बताएको थियो । उक्त भेटवार्तापछि ओलीले प्रचण्डको एक वर्षको अवधिमा गरेको सम्बोधन र लेख रचनाको किताब मागेर लगेका बताइन्छ । बैठकबाट एमालेले सरकारविरुद्ध आन्दोलन गर्ने तयारी गरेको थियो । तर उक्त भेटवार्ता पछि बैठकबाट आन्दोलनको कुनै कार्यक्रम ल्याएन ।
जन्मदिनको शुभकामनामा प्रचण्डको फोन
ओलीको जन्मदिनमा प्रधानमन्त्री दाहालले फोन गरेर शुभकामना दिएको जानकारी प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले दिएका थिए । त्यही संवादमा ओलीले अब छिट्टै मिलेर जाऔँ र २०८४ को निर्वाचन मिलेर लडौँ भनेका स्रोतको दाबी छ ।
जनार्दनले गरेका थिए रुकुममा ओलीको स्वागत
१९ गते मंसिरमा एमाले अध्यक्ष ओलीलाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोटमा स्वागत गरेका थिए ।
१४ गते मंसिरबाट एमालेले पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रामा सुरु गरेको थियो । यात्राको क्रममा जाजरकोट पुगेका अध्यक्ष ओली लगायत एमालेको टोलीलाइ स्वागत गरेका थिए ।
उक्त स्वागत पनि प्रधानमन्त्रीको सल्लाहमा भएको माओवादी केन्द्रका नेताहरू बताउछन् ।
जाजरकोटको रिम्ना पुगेको एमालेको टोलीलाई शर्माले लाइनमै उभिएर स्वागत गरेका थिए ।
उक्त समयमा शर्मा भूकम्प प्रभावितहरूको अस्थायी पुनस्र्थापनाका लागि रुकुममा थिए ।
त्यसपछि एमालेको यात्रामा सिन्धुपाल्चोकमा माओवादीका बागमती प्रदेश अध्यक्ष तथा प्रदेशसभा सांसद सरल सहयात्री र बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले ओलीसहितको एमाले टोलीलाई स्वागत गरेका थिए ।
ओली प्रचण्ड भेटघाट
मंसिर १४ गतेबाट एमालेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा थियो । १२ मंसिरमा ओली सिंहदरबार गएर प्रचण्डसँग भेटवार्ता गरे ।
१७ पुसमा पनि बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । त्यो समयमा केन्द्रमा राष्ट्रिय सभा निर्वाचन र टीआरसी विधेयक थियो ।
माघ १९ गते पनि सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । भेटमा शान्ति प्रक्रियाका बाँकी कामका साथै संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको जानकारी दिइयो । तर दुइ नेताबीच निरन्तर भेटवार्ता जारी रहेको छ ।
११ गते वर्षमा पुन बालकोट पुग्दा तीन जना चीनीयाँ राजदुतावासका कर्मचारी पनि ओलीलाई जन्मदिनको शुभकामना दिन पुगेको बताइन्छ ।
पछिल्लो समयमा छिमेकी चीन पनि कम्युनिस्ट मिलनु भनेर आन्तरिक रुपमा सक्रिय रहेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्: