Bagmati Samachar Logo

माओवादी केन्द्रका पार्टी सदस्य ७ लाख ५२ हजारभन्दा बढी

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफूसँग ७ लाख ५२ हजारभन्दा बढी संगठित सदस्य रहेको दाबी गरेको छ ।

बुधबारदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकमा सांगठनिक प्रतिवेदन पेस गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा ७ लाख ५२ हजार ९५६ जना संगठित सदस्य रहेको दाबी गरेका हुन् ।

उनका अनुसार पार्टीका संगठित सदस्य सात प्रदेशमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा छन् भने सबैभन्दा कम गण्डकीमा छन् । अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमा बागमती प्रदेशमा १ लाख ४७ हजार ३५३ जना सदस्य छन् । त्यसपछि मधेश प्रदेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१० र कोशी प्रदेशमा ९९ हजार ६०१ जना संगठित सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, कर्णालीमा ८५ हजार ७७४, सुदूरपश्चिममा ८० हजार ४८२ र गण्डकीमा ६६ हजार ६८७ जना पार्टीका सदस्य रहेको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । सम्पर्क समितिमा १९ हजार ३१२, उपत्यकामा १८ हजार ३२५ र प्रवास समितिमा ५ हजार ५३७ जना संगठित सदस्य रहेको प्रचण्डको दाबी छ ।