एक क्वीन्टल सुन ल्याउने कार्गोका दुई सञ्चालक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको एक क्वीन्टल सुन प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।
हङकङमार्फत क्याथे प्यासिफिकको उडानमा सुनसहितको ब्रेक सु नेपाल आएको थियो ।
सुनसहित मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ नेपाल ल्याउने कार्गो कम्पनीका दुई सञ्चालकलाई राजश्व अनुसन्धान विभागको टोलीलले आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ छन् ।
आफ्नो कुरियरबाट आएको सामानमा सुन भेटिएको थाहा पाएपछि भट्ट आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पुगेका थिए । त्यसक्रममा त्यहीँबाट उनलाई राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको स्रोतले बतायो ।
दुईवटा कुरियरबाट सुन सहितको ब्रेक सु नेपाल आएको थियो । हङकङमा रहेको क्लियरिङ एजेन्टले ‘अटो पार्ट्स’ भनेर सामान पठाएका थिए । क्याथे एयरलाइन्सले पनि ‘एयर विल’मा ती सामग्री ‘अटो पार्ट्स’ भएको उल्लेख गरेको छ ।
राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार, सामान चिनियाँ नगारिकले पठाएको पाइएको छ । कार्गोका एजेन्टसँग कुरा गरेर पठाउने व्यक्तिबारे पनि जानकारी पत्ता लगाउने कोसिस भइरहेको स्रोतले जानकारी दिए ।
मंगलबार राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको झण्डै १०० क्वीन्टल सुन बरामद गरेको थियो ।
पक्राउ पर्नेमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, कम्पनीका सञ्चालक भोजपुरका दिलिप भुजेल, उनका मामा दोलखाका रामकुमार भुजेल, भोजपुरका हर्कराज राई र तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ छन् । आज बिहान चिनियाँ नागरिक लिङ चुवानलाई पनि पक्राउगरेको छ ।
बिहीबार थप तीन जना पक्राउ परेसँगै यो प्रकरणमा नियन्त्रणमा पुगेकाको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्: