संघीय संसदको पहिलो अधिवेशनको तयारी पूरा भयो : संसद सचिवालय
काठमाडौं । संघीय संसदको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ ।
संघीय संसदको पहिलो अधिवेशन भोलि (सोमबार) दिउँसो १ बजेबाट सुरु हुँदैछ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संघीय संसदको पहिलो अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिए ।
उनले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राविधिक पक्षका सबै काम पूरा भएको बताए । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक भोलि ९सोमबार० एकसाथ बस्दैछ । प्रतिनिधिसभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रियसभा बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको र सोही बैठकको निर्णयानुसार संघीय संसद सचिवालयले आवश्यक व्यवस्था मिलाएको सहायक प्रवक्ता धमलाले बताए ।

संघीय संसद सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको पनि जानकारी गराएको छ । तर, स्थान अभावका कारण सबै दलका संसदीय दलका नेताहरूलाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता धमलाले बताए । संघीय संसदमा १२ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व छ ।
अधिवेशनमा सबै दलका संसदीय दलका नेताहरूले बोल्ने कार्यसूची तय गरिएको छ । संघीय संसदमा सांसदहरूले पनि ई–हाजिरी गर्ने व्यवस्था मिलाइएको छ । भोलिबाट परीक्षणका लागि राष्ट्रियसभामा सुरु हुने र परीक्षणपछि दुवै सदनमा त्यसलाई लागू गरिने संघीय संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: