एमाले बागमती संसदीय दलको नेतामा थपलिया सर्वसम्मत
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सभामा संसदीय दलको नेतामा जगन्नाथ थपलिया (जेएन)लाई सर्वसम्मत चयन गरेको छ । हेटौंडामा रहेको प्रदेशसभा भवनमा रहेको दलको कार्यालयमा बसेको बैठकले थपलियालाई दलको नेताका रूपमा चयन गरेको हो ।
बैठकअघि भएको सहमति प्रयासमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पार्टी स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, पोलिटब्युरो सदस्य आनन्द पोख्रेल र केन्द्रीय सदस्य रामेश्वर रानाले थपलियालाई दलको नेता बनाउने बारे निर्णय सुनाएका थिए । थपलियाले चितवनको निर्वाचन क्षेत्र १ को (१)बाट चुनाव जितेका हुन् ।
थपलिया चितवन १ बाट प्रतिनिधिसभा सदस्य चुनाव लड्न चाहन्थे । तर, पार्टीमा भीम रावल र घनश्याम भुसाललाई टिकट नदिइएपछि १० बुँदे समूह मिलाउन पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई टिकट दिइएको थियो । पाण्डेले टिकट पाएपछि थपलिया प्रदेशसभा झरेका थिए ।
दलको नेता चयन भएसँगै गठबन्धनमा एमालेले बागमती प्रदेश पाएको अवस्थामा थपलियालाई मुख्यमन्त्री हुने बाटो खुलेको छ । यद्यपि, गठबन्धनमा प्रदेश भागवण्डा नलागिसकेकाले बागमतीमा नेतृत्व कसले गर्छ भन्ने टुंगो छैन । राप्रपा सरकारमा जाने भएपछि १३ सिट रहेको राप्रपाले बागमती प्रदेशमा पनि दावी गर्ने चर्चा छ ।
प्रतिक्रिया दिनुहोस्: