Bagmati Samachar Logo

प्रचण्डलाई प्रधानमन्त्री बनाउन देउवा सकारात्मक

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताको बालुवाटार भएको छलफल सकिएको छ । बिहीबार बालुवाटारमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच करिब डेढ घण्टा छलफल भएको हो ।

नेताहरुबीचको छलफलमा नयाँ सरकार गठनबारे कुराकानी भएको छ । त्यसक्रममा प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका पदको शक्ति बाँडफाँट गरेर राष्ट्रपतिले दिएको समय सीमाभित्रै नयाँ सरकार गठन गर्नुपर्नेमा नेताहरूको समान धारणा रहेको बताइएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले समाजवादीका अध्यक्ष नेपाललाई सँगै राखेर अब बन्ने नयाँ सरकारको नेतृत्वमा आफूलाई सघाउन प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन् । प्रचण्डको प्रस्तावमा देउवाले ठोस जवाफ नदिएपनि छलफल गर्न सकिने जवाफ दिएका स्रोतको दाबी छ ।

बिहीबार प्रचण्ड संसदीय दलको नेता चयन भएलगत्तै बालुवाटार पुगेका थिए । तीन नेता बीच छलफल हुदा प्रचण्डले देउवालाई आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुसार पहिलो खेपको प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न भनको बताइन्छ । प्रचण्डको यो प्रस्तावमा देउवाले सबै दलको संसदीय दलको नेता छानेर छलफल गर्न सकिने बताएका थिए ।