भारतले महाकाली नदीमा अनधिकृत संरचना निर्माण गरेकोमा रास्वपाको आपत्ति
काठमाडौं । महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । नेपाली नागरिकहरूले त्यसको प्रतिरोध गर्दा भारतीय पक्षबाट हानिएको ढुङ्गाले खेलिरहेका नेपाली बालबालिकासमेत घाइते भएको प्रति आपत्ति जनाएको छ । एक वर्षभित्र ३ पटक ढुंगामुढा भइसकेको समाचारहरूप्रति उक्त पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अन्तर्राष्ट्रिय सन्धि सम्झौता, भारतसँगको हाम्रै द्विपक्षीय सन्धि सम्झौताहरू विपरीत कार्य भइरहँदा पनि सरकार मूकदर्शक बनेर रमिता मात्रै हेरिरहनु हदैसम्मको गैरजिम्मेवार कार्य भएको पार्टीको ठहर छ ।’ सरकारको गैरजिम्मेवारीले स्थानीय नेपाली नागरिकहरू प्रतिरोधमा उत्रिनु पर्ने वाध्यता बनेको छ । विभिन्न संरचना बनाएर महाकालीको बहाव नेपालतर्फ धकेलिँदा र त्यहाँका स्थानीय नेपाली नागरिकहरू प्रतिरोधमा उत्रिरहँदा ठूलो दुर्घटनाको जोखिम बढाएको छ,’ प्रवक्ता डा।मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
भारतीय पक्षबाट महाकालीको बहाव परिवर्तन गर्ने, नदी तथा किनारमा अनधिकृत संरचना निर्माण गर्ने, ढुंगामुढा गर्ने जस्ता कार्यहरू आपसी सद्भाव बिगार्ने, दुखद, अतिक्रमणकारी र भर्त्सनायोग्य भएको पार्टीको ठहर छ । यस्ता कार्यहरू नगर्न, बनाउँदै गरिएका र बनिसकेका अनधिकृत संरचनाहरू भत्काउन भारत सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै नेपाल सरकारले भारतसँगका हाम्रा र अन्तर्राष्ट्रिय सन्धि सम्झौताका आधारमा आफ्नो सीमा र नागरिकको रक्षा गर्न यथाशीघ्र कूटनीतिक पहल सुरु गरिहाल्न, घाइते तथा पीडितहरुको औषधी उपचार, सुरक्षाको बन्दोबस्त गर्दै सीमा सम्पदाको संरक्षक र नागरिकलाई अभिभावकत्वको अनुभूति हुने गरी प्राथमिकताका साथ कार्य गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: