चोलेन्द्रले सर्वोच्च फर्किन्छु भनेर अदालतमाथि मजाक गर्नुभयो : बार अध्यक्ष घिमिरे
काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताएका छन् । आज सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा आउन नमिल्ने बताए ।
उनले संसदको कार्यकाल सकिएको नभइ सांसदहरूको मात्रै कार्यकाल सकिएको भन्दै प्रधानन्यायाधीशको महाभियोगको सम्बन्धमा आगामी संसदले प्रष्ट पार्ने बताए । उनले महाभियोग सिफारिस समितिले संसदलाई प्रतिवेदनसमेत पेस गरिसकेको अवस्थामा प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि नै मजाक गरेको बताए ।
उनले भने, ‘मलाई के लाग्दछ भने अब फेरि उहाँ फर्केर आउने भन्ने कुरा रहँदैन । यो केवल अदालतमाथि मजाक भइराखेको छ । सांसदहरूको कार्यकाल सकिएको हो । संसद सकिएको होइन । संसद सकियो भन्ने तर्क गरिँदैछ, त्यो गलत हो । संसद अविछिन्न उत्तराधिकारवाला संस्था हो । त्यसैले गर्दा संसद सकिँदैन । सांसदहरूको कार्यकाल सकिएको छ । तर कार्यकाल सकिनुभन्दा पहिला नै यति धेरै प्रक्रिया अगाडि बढिसक्यो कि उहाँसँग बयान लिइयो । त्यसपछि प्रतिवेदन बन्यो । प्रतिवेदन बनाएर फुल हाउससमक्ष पेस गरेको छ । अब त्यो आगामी संसदले त्यसलाई प्रष्ट गर्नेछ ।’
उनले बारले हालसम्म कुनै विरोधको कार्यक्रम तय नगरेको स्पष्ट पारे । प्रधानन्यायाधीश जबरा सर्वोच्च आउन खोजेमा भने विरोधको कार्यक्रम हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्: