Bagmati Samachar Logo

मधेशमा मिटरब्याजीविरुद्ध संघर्ष समिति गठन

काठमाडौं । मधेश प्रदेशका मिटरब्याजबाट पीडितहरु संगठित भएर संघर्ष समिति गठन गरेका छन् । उनीहरु मिटरब्याजीविरुद्ध चरणवद्ध संघर्ष गर्ने भएका छन्।

मंगलबार मिर्चैयामा पीडितहरुले भेला गरी प्रदेश स्तरीय संघर्ष समिति गठन गरेका हुन्।

सिरहाका मनोज पासवानको संयोजकत्वमा रहेको उक्त समितिमा मधेश प्रदेशका विभिन्न जिल्लाका पीडितहरु छन्।

समितिले मिटरब्याज घटनाका पीडितहरुलाई सम्पर्कमा आउन आह्वान गरेको छ।

यस्तै, संघर्ष समितिले संघर्षका कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ। साउन १५ गते आइतबार मुख्यमन्त्री कार्यालय जनकपुर घेराउको कार्यक्रम राखिएको छ।

साउन १५ गतेपछि आन्दोलनका थप सशक्त कार्यक्रम सार्वजनिक गरिने संयोजक पासवानले बताए।

मिटरब्याजको समस्या मधेशमा अहिले ठूलो समस्या रहेको भन्दै राज्यले निकास नदिएसम्म संघर्ष जारी राख्ने अभियन्ता संघर्ष दाहालले जानकारी दिए।