Bagmati Samachar Logo

ललितपुरमा ११ औं पटक वडाध्यक्ष बन्ने ८१ वर्षीय नरसिंह व्यञ्जनकारको सपना पुरा भएन

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १० का ८१ वर्षीय स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार पराजित भएका छन्।

१० पटक वडाध्यक्ष जितेका उनले ११ पटक भने जित्न सकेनन् । उनले यसपालि पनि स्व्तन्त्रबाट उम्मेदवारी दिएका थिए। यसपालि उनी २८२ मतले पराजित भएका छन्।

नरसिंह आफ्नै ४४ वर्षीय भतिजसँग पराजित भएका हुन्। नेपाली कांग्रेसबाट उम्मेदवार उनका भतिज रविनमान व्यञ्जनकारले ८२५ मत ल्याएका छन्।

नरसिंहले ५४३ मत मात्रै ल्याए। व्यञ्जनकारले पुतली चुनाव चिन्ह पाएका थिए।

आधा शताब्दीदेखि लगातार वडाध्यक्ष रहेका नरसिंहले पहिलो पटक हारेका हुन् ।
उनले वडाध्यक्ष जितेका आफ्ना भतिजालाई पदको राजनीति गर्नेभन्दा पनि समाजसेवामा लाग्न सुझाव दिने बताए।

नरसिंहको वडाध्यक्ष यात्रा २०२९ सालबाट सुरू भएको हो। त्यतिबेला उनले कांग्रेसबाट उठेका आफ्नै भाइ (माइलाबाका छोरा) कर्मलाललाई हराएका थिए। स्वतन्त्र उम्मेदवारमा उठेर पहिलो पटकमा नै चुनाव जितेका थिए।

त्यसपछि यो वडाको जिम्मेवारी उनले कसैको हातमा जान दिएनन्। वडावासीहरूले पनि यो जिम्मेवारी अरूलाई सुम्पन चाहेनन्।

लगभग आधाजसो चुनाव त उनले निर्विरोधै जितेका छन्। कसैले विपक्षमा उभिने हिम्मतै गरेनन्। कसैले चुनौती दिन खोज्दा पनि नराम्ररी पछारिए।

राजनीतिमा आउनुअघि उनी नारायणहिटीमा निर्माणको काम गर्थे।

पञ्चायत कालका वडाध्यक्ष व्यञ्जनकारको लोकप्रियता एकदमै थियो। उनलाई बहुदल आएलगत्तै २०४९ सालको चुनावमा लड्न नेपाली कांग्रेसले टिकट दियो। त्यसबेला पानि उनले निर्विरोध वडाध्यक्षको पद हासिल गरे। २०५४ सालमा उनलाई कांग्रेसले टिकट दिएन। कुनै पार्टीले टिकट नदिएता पनि उनलाई चुनाव लड्न केसैले रोकेन। उनलाई फेरि वडावासीले स्वतन्त्र उम्मेदवार बनाए। उनले स्वतन्त्र उम्मेदवार बनेर फेरि चुनाव जिते। त्यो चुनावमा बाँकी सबै उम्मेदवारको जमानतै जफत भयो।

२०७४ मा पनि उनले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए।