Bagmati Samachar Logo

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षसम्म गर्न सकिने बताएका छन् । नेपालले स्थानीय तहको निर्वाचन अर्को बर्षको चैत महिनासम्म गर्न सकिने दाबी गरेका छन् । उनले यो संवैधानिक र कानूनी सुविधा पनि सत्ता गठबन्धनलाई रहेको दाबी गरेका छन् ।

रामेछाप जिल्लाका विभिन्न पार्टीका युवालाई पार्टी प्रवेश गराउदै उक्त कुरा बताएका हुन् । नेपालले २०७९ चैतसम्म स्थानीय तहको चुनाव गराउन सकिने भए पनि आउने मंसिरभित्र तीनै तहको चुनाव गराउने छलफल गठबन्धनमा भइरहेको बताए ।

नेपालले भने, ‘हामी पाँच दल मिलेरै चुनावमा जान्छौं । आउने असोज, कात्तिक मंसिरमा केन्द्रको , प्रदेशको र स्थानीय चुनावमा जानेछौं । यसमा छलफल चलिरहेको छ ।’

अध्यक्ष नेपालले २०७४ असोज ७ गते स्थानीय तहको अन्तिम मत परिणाम आएकोले त्यसैलाई आधार मानेर अर्को चैतसम्म चुनाव गर्नुपर्ने बताए ।

संविधानमा गाउँसभा र नगरसभाको चुनाव सम्पन्न भएको ५ वर्ष पुगेको ६ महिनाभित्र अर्को चुनाव गराउने व्यवस्था रहेका बताए ।