Bagmati Samachar Logo

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

काठमाडौँ । नेकपा एमालेले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनको माग र दोषिलाई कारबाहिको माग गरेको छ । देवानगन्जमा राज्य पक्षबाट भएको अत्यधिक बल प्रयोगका कारण स्थानीय युवा ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भएको तथा अन्य नागरिकहरू गम्भीर घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका महासचिव शंकर पोखरेलद्वारा मंगलबार जारी प्रेस वक्तव्यमा नागरिकको जिउधनको सुरक्षा र शान्ति–सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेको सरकार तथा स्थानीय प्रशासन संवेदनशील विषयमा गैरजिम्मेवार, उदासीन र दिशाहीन देखिएको भन्दै आलोचना गरिएको छ। वक्तव्यमा विवाद समाधानका लागि समयमै संवाद र समन्वयको पहल गर्नुको सट्टा अनावश्यक बल प्रयोग र त्रासको वातावरण सिर्जना गरिएकाले परिस्थिति थप उत्तेजित बनेको उल्लेख गरिएको छ।

एमालेले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

साथै घाइते सबै नागरिकको अविलम्ब, प्रभावकारी र पूर्ण निःशुल्क उपचारको व्यवस्था गर्न, पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घटनाको निष्पक्ष तथा उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
वक्तव्यमा राज्यलाई दमनकारी रवैया तत्काल रोक्न, संयमता अपनाउन तथा समस्याको दीर्घकालीन र शान्तिपूर्ण समाधानतर्फ अग्रसर हुन पनि आग्रह गरिएको छ।

एमालेले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी भाइचारालाई कायम राख्न सबै पक्षसँग अपिल गर्दै देवानगञ्ज तथा समग्र सुनसरीका नागरिकलाई कुनै पनि प्रकारका अफवाहमा नलाग्न र वर्षौँदेखि कायम रहँदै आएको सामाजिक तथा धार्मिक सद्भाव जोगाइराख्न आह्वान गरेको छ।