Bagmati Samachar Logo

ओलीका सल्लाहकार अग्नि खरेलले भने– सरकारले गम्भीर गल्ती गरेको थियो

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य अग्नी खरेलले केन्द्रीय कमिटी बैठकमा ओली नेतृत्वको सरकार सही गतिमा नचलेको बताएका छन् । सरकारले गरेका गल्तीहरूका कारण जेन–जी आन्दोलन भएको र देशले क्षति व्योहोर्नु परेको बताए ।

बैठकमा बोल्दै उनले चार विषयलाई प्राथमिकताका साथ उठाए । ‘सामाजिक सञ्चाल बन्द गर्नु सरकारले गरेको गम्भीर गल्ति थियो’, खरेलले भने, ‘जे काम गर्न सरकार बनेको थियो त्यही गरिएन, संविधान संशोधनको प्रक्रिया नै सुरु गरिएन ।’

सरकारका कारण जनतामा निराशा छाएको उनले बताए । केन्दीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको समेत खरेलले आलोचना गरेका छन् । उनले भने, ‘निराशाको परिणाम देशले भोग्न परिरहेको तर्फ नेतृत्वले ध्यान दिनुपर्नेमा प्रतिवेदन कडारुपमा आयो, भाषा, शब्द लचिलो हुनुपर्ने हो, यस्तो तरिकाले सही ठाउँमा पुगिन्न अलि नरम रुपमा लेख्नुपर्थ्यो ।’

आन्दोलन र संसद पुनस्स्थापनालाई जोड दिएका ओलीलाई खरेलले कडा प्रतिवाद गरेका छन् । ‘संसद पुनस्स्थापना अहिलेको मुद्दा बन्नुहुँदैन, केही महिना पर्खौं ।’

२७ देखि २९ मंसिरसम्म पोखरामा गर्न लागिएको महाधिवेशन सम्भव नै नभएको उनले बताए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा ओलीले कडा रुपमा प्रस्तुत भएर कार्यकर्तालाई विभाजित गरेको र यसले पार्टीलाई क्षति पुगेको कुरा उनले बैठकमा राखे । उनले ओलीलाई भने, ‘विद्या भण्डारीका विषयमा तपाईं कडा नबन्नुहोस् नरम भएर निर्णय लिनुहोस्, पार्टीको हित सोच्नुहोस् ।’

ओलीको निकट रहेर कानुन तथा संसदीय मामिलामन्त्री, महान्याधिवक्तासमेत भएका खरेल पछिल्लो समय प्रधानमन्त्रीको मानवअधिकार सल्लाहकार थिए ।