Bagmati Samachar Logo

सञ्जय टकलासहित नख्खु कारागारबाट भागेका १८ कैदीबन्दी पक्राउ

काठमाडौं । नख्खु कारगारबाट भागेका १८ कैदीबन्दीलाई आज काभ्रेपलाञ्चोकको मंगलटारबाट पक्राउ गरिएको छ । कारागारबाट भागेका पूर्वराज्यमन्त्री सञ्जय टकला (साह)सहित १८ जनालाई भाग्दै गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको कार्यालयका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय मंगलटारको प्रहरी टोलीले बीपी राजमार्गअन्तर्गत भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

टकलाले जनकपुर बम काण्डमा दोषी ठहर, सञ्चार उद्यामीको हत्या र अकुत सम्पत्तिको मुद्दामा सजाय भुक्तान गरिरहेका थिए । पक्राउ गरिएका सबैलाई आजै नख्खु कारागार नै पठाउने तयारी भइरहेको कुँवरले बताए । अन्य कारागारबाट फरार भई काभ्रेपलाञ्चोकहुँदै भाग्दै गरेकालाई अरनिको र बीपी राजमार्गमा विशेष निगरानी गरिरहेको जिल्लास्थित प्रहरीले जनाएको छ ।

यसअघि बुधबार सदरमुकाम धुलिखेलस्थित जिल्ला कारागारका कैदीबन्दीले आगजनी गरेका थिए । अन्य स्थानका कारगारबाट कैदीबन्दी भागेपछि आफूहरूलाई पनि रिहा गर्नुपर्ने माग राख्दै कारगारभित्र तोडफोड र आगजनी गरेपछि तत्कालै दमकल प्रयोग गरेर कारगारमा भएको आगजनी नियन्त्रणमा लिइएको थियो ।

२८३ कैदीबन्दी रहेको उक्त कारागारमा आगजनी भएपछि बाहिर ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जनाइएको छ ।