Bagmati Samachar Logo

सिङ्गापुर प्रहरीको खोजीमा परे बहालवाला डीएसपी हेमबहादुर शाही

काठमाडौं । नेपाल प्रहरीका डीएसपी हेमबहादुर शाहीसहित तीन नेपालीलाई आतंकवादसँग जोडिएर आर्थिक कारोबारमा संलग्न रहेको आशंका गर्दै सिङ्गापुर प्रहरीले इन्टरपोलमार्फत सोधखोज गरेको खुलेको छ ।

नेपाल प्रहरीसँग सिङ्गापुर प्रहरीले डीएसपी शाही, कैलालीका दीपेन्द्रबहादुर शाह र कालीकोटका महेन्द्रजङ्ग शाहको पृष्ठभूमि र अन्य विवरण मागेको हो । इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) सिङ्गापुरले ९ साउनमा पत्राचार परेपछि नेपाल प्रहरीले डीएसपी शाहीबारे आन्तरिक अनुसन्धान गरिरहेको स्रोतले बतायो ।

सिङ्गापुर प्रहरीको पत्रमा उनीहरूका गतिविधि, कुनै आपराधिक घटनामा संलग्नता, आतंकवादमा संलग्न व्यक्ति तथा समूहका लागि आर्थिक गतिविधि गर्ने र सिङ्गापुरसँग जोडिएको बारे जानकारी पठाउन आग्रह गरिएको छ ।

इन्टरपोलले सोधखोज गरेका मध्ये महेन्द्रजङ्ग शाह २० वर्षदेखि मलेसियामा बस्दै आएका छन् । उनी एनआरएन मलेसियाका पूर्वअध्यक्षसमेत हुन् । दीपेन्द्रबहादुर शाह माओवादी केन्द्रका स्थानीय नेता हुन् । महेन्द्र उनका काकाका छोरा हुन् । दीपेन्द्र गत स्थानीय तह निर्वाचनमा बाँकेको बैजनाथ गाउँपालिका अध्यक्षका उम्मेदवार थिए ।

कसरी मुछिए डीएसपी ?

डीएसपी शाही अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत छन् । उनी इलाका प्रहरी कार्यालय कोहलपुरको प्रमुख हुँदा दीपेन्द्रसँग परिचय भएको थियो । पारिवारिक कुराकानीका क्रममा महेन्द्रले दीपेन्द्र र हेमराजलाई मलेसिया घुम्न निम्ता गरिरहन्थे । एक–दुईपटक डीएसपी शाही र महेन्द्रबीच भिडियो कल पनि भएको थियो । ‘इष्टमित्र र पारिवारिक रूपमा मात्र हाम्रो सम्बन्ध हो,’ डीएसपी शाहीले भने, ‘सिङ्गापुर प्रहरीको पत्रपछि हेडक्वार्टरबाट मलाई सोधिएको छ । मैले सबै वास्तविकता जाहेर गरिदिएको छु ।’

इन्टरपोलले खोज्नुपर्ने गरी उनी कसरी मुछिए त ? डीएसपी शाहीका अनुसार, ३२ जेठमा उनी कैलालीका अरु तीन साथीसहित १० दिनेको लागि सिङ्गापुर घुम्न गएका थिए । उनले मलेसियाबाट बारम्बार बोलाउने महेन्द्रलाई सम्झिन्छन् । शाही र दीपेन्द्रबीच मलेसियामा भेट्ने सल्लाह हुन्छ । शाही बैंकक जान्छन् त दीपेन्द्र सिधै मलेसिया । बैंककमा दुई दिन घुमेपछि शाही र उनका साथीहरूको सिङ्गापुर उड्ने प्याकेज थियो । तर, महेन्द्र र दीपेन्द्रले कर गरेपछि उडान रद्द गरेर डीएसपी शाही मलेसिया पुगे । ‘मलेसिया घुमेपछि आफ्नै गाडीमा घुमाउँछु भनेका थिए । भ्रमण पारिवारिकजस्तो बन्यो,’ शाही सुनाउँछन् ।

मलेसियामा झण्डै एक साता बसेपछि उनीहरू सिङ्गापुर जान निस्किन्छन् । महेन्द्रसँगै उनकी श्रीमती, साली, दीपेन्द्र र डीएसपी शाही गाडीबाटै सिङ्गापुर बोर्डरमा पुगेका थिए । तर, उनीहरूलाई सिङ्गापुर अध्यागमनले प्रवेश गर्न रोक्यो । ‘महेन्द्रजंग शाहबारे आईएसआईएससँग जोडिएको रिपोर्ट गरेको छ, त्यसैले शंकास्पद भनेर रोकियो,’ डीएसपी शाही भन्छन्, ‘मलाई पनि महेन्द्रसँगको नाता सम्बन्धबारे सोधिएको थियो । मैले टाढाको नातेदार भनेको थिएँ ।’

उनी सिङ्गापुर नपुगेरै मलेसियाबाट फर्किएका थिए । स्वदेश फर्किएको एक महिनापछि डीएसपी शाहीसहित तीन नेपालीबारे इन्टरपोलमार्फत सिङ्गापुर प्रहरीले सोधीखोजी गरेको हो ।

प्रहरीस्रोतका अनुसार, डीएसपी शाहीको आतंकवादसम्बन्धी कुनै गिरोहसँग सम्बन्ध नदेखिए पनि मलेसिया बस्दै आएका महेन्द्र सिङ्गापुर प्रहरीको खोजीको सूचीमा रहेको पाइएको छ । तिनै विवादास्पद व्यक्तिसँगको तस्वीरले शाही पनि सिङ्गापुर प्रहरीको निगरानीमा परेका हुन् ।