Bagmati Samachar Logo

काठमाडौंमा नाबालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं। काठमाडौंमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं १४, कुलेश्वरमा घरेलु कामदारका रूपमा राखिएकी नाबालिकालाई जबरजस्ती करणी गरेको पाइएको छ । तर पक्राउ परेका व्यक्तिको परिचय खुलाइएको छैन ।

प्रहरी वृत्त, कालीमाटीका अनुसार, घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई उद्धार गरिएको छ भने ती व्यक्तिलाई प्रहरी कार्यालयमा ल्याएर सोधपुछ भइरहेको छ ।

प्रहरी स्रोतले भन्यो, ‘अहिले बालिकालाई उद्धार गरिएको हो, उहाँबारे सोधपुछ भइरहेको छ ।
प्रहरीका अनुसार, काठमाडौं महानगरपालिकाले राजधानीका विद्यालयहरुमा चलाएको बालश्रम विरुद्धको अभियानका क्रममा पीडित बालिकाले महानगरका कर्मचारीलाई हिंसा भइरहेको बारे बताएकी थिइन् ।

काठमाडौं महानगरका मेयर बालेन साहको सचिवालयका सदस्य धिरज जोशीका अनुसार, त्यसक्रममा महानगरले प्रहरीसँग समन्वय गरेर बालिकालाई उद्धार गरेको हो ।

 

‘महानगरको अभियान अन्तर्गत जानकारी आएपछि बाल हेल्पलाइन, बालबालिका खोजतलास तथा समन्वय केन्द्र १०४ र राष्ट्रिय बाल अधिकार परिषद्को संयुक्त अनुगमनका क्रममा उद्धार गरिएको हो’ जोशीले भने, ‘त्यसक्रममा निवासबाट ५४ वर्षीय पुरुषलाई पनि नियन्त्रणमा लिइएको हो ।’

प्रहरीका अनुसार, ती बालिका ६ वर्षदेखि उक्त घरमा घरेलु कामदारको रूपमा बस्दै आएकी थिइन् । उनलाई पढाइदिने शर्तमा काभ्रेको विकट गाउँबाट ल्याएको खुलेको छ ।