अमेरिकी राष्ट्रपति चुनावी बहसमा जब दुई उम्मेदवारबीच यौन र युद्धको विषय चर्कियो

(एजेन्सी)
काठमाडौं । २०२४ मा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि दुई उम्मेदवारहरू वर्तमान राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प एकपटक फेरि चुनावी मैदानमा प्रतिस्पर्धाका लागि उत्रिएका छन् ।
यसअघिको चुनावमा रिपब्लिकन उम्मेदवार तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग पराजित भएका थिए । बहालवाला राष्ट्रपतिले विरलै हार्ने चुनावमा ट्रम्प त्यतिबेला पराजित भएका थिए ।
आगामी ५ नोभेम्बरमा हुने निर्वाचनका लागि दुवै उम्मेदवारले शुक्रबार पहिलोपटक सार्वजनिक बहसमा भाग लिएका छन् । अमेरिकी राष्ट्रपति चुनावमा दुई उम्मेदवारबीच सार्वजनिक बहस गर्ने प्रचलनअनुसार शुक्रबार उनीहरूबीच जर्जियाको अटलांटामा पहिलो बहस भएको छ ।
बहसले राष्ट्रपति जो बाइडेनको उमेरलाई सतहमा ल्याइएको बीबीसीले उल्लेख गरेको छ । बहसका क्रममा राष्ट्रपति बाइडेन पटक पटक अड्किएका मात्र थिएनन्, उनले बोलेको समेत नबुझिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । बहसका क्रममा बाइडेनको उमेर र उनले शासन चलाउन नसकेको मुद्दा गम्भीर रूपमा उठेको र त्यसबाट पार पाउन उनलाई सहज नहुने बीबीसीले उल्लेख गरेको छ ।
बाइडेन अहिले ८१ वर्षका भए भने उनका प्रतिस्पर्धी ट्रम्प ७८ वर्षका हुन् । बहसका बीचमा बाइडेन पटकपटक रोकिएपछि उनको प्रचारमा जुटेको टिमले राष्ट्रपतिलाई रुघा खोकी लागेको बताउनु परेको थियो ।
उता बहसमा यौन र युद्धको विषयले पनि निकै महत्व पाएको थियो । ट्रम्प एक यौनसम्बन्धी मामिलामा अदालतबाट दोषी ठहर व्यक्ति हुन् । बाइडेनले यो प्रसंग बहसका क्रममा उठाएका थिए । एक पोर्न स्टारलाई चुप रहनका लागि २०१६ मा गोप्य रुपमा रुपैयाँ दिएको मामिलामा ट्रम्प दोषी ठहर भएका छन् । बाइडेनले यही प्रसंगमा ट्रम्पलाई ‘तपाईं नैतिकवान् हुनु हुन्न’ भनेका थिए ।
यस्तै, ट्रम्पले इजरायल–हमास युद्ध र रुस युक्रेन युद्धमा बाइडेनको भूमिकाबारे प्रसंग निकालेका थिए । ट्रम्पले बाइडेनले हमास–इजरायल युद्धमा प्यालेस्टाइनीको जस्तो सोच राखेको बताएका थिए भने रुससँगको युद्धमा अमेरिकाले भन्दा युरोपले कम खर्च गरेकोमा बाइडेनको आलोचना गरेका थिए । उनले आफ्ना नेटो सहयोगीलाई किन धेरै खर्च गर्न दबाब दिन सक्दैनन् भनी प्रश्न गरेका थिए ।
जवाफमा बाइडेनले कोरोनाकालमा ट्रम्प प्रशासनले राम्रो काम नगरेको भन्दै प्रश्न उठाएका थिए ।
दुवै उम्मेदवारहरूले बहसका क्रममा झुटो बोलेको समेत बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालमा युद्धमा एक पनि अमेरिकी सैनिक नमारिएको झुटो दाबी गरेका थिए । जबकि हालै जोर्डनमा भएको एक मिसाइल आक्रमणमा ती जना अमेरिकी सैनिक मारिएका थिए । उता अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुँदा भएको आत्मघाती आक्रमणमा पनि १३ जना अमेरिकी सैनिक मारिएका थिए । उता ट्रम्पको कार्यकालमा भने ६५ जना अमेरिकी सैनिक मारिएका थिए ।
बीबीसीका अनुसार बहसका क्रममा ट्रम्पमाथि हाबी हुने पटकपटक मौका आए पनि बाइडेन त्यसमा सफल भएनन् ।
प्रतिक्रिया दिनुहोस्: