Swornakshar Logo

रुसको मस्कोमा भएको हमलामा १३३ जनाको मृत्यु

काठमाडौं । रुसको राजधानी मस्कोमा आयोजित कन्सर्टमा हमला हुँदा १३३ जनाको मृत्यु भएको छ । सन् २००४ पछि रुसमा हमलामा ज्यान गुमाउनेहरुको यो नै ठूलो संख्या हो । सन् २००४ मा एक स्कुलमा हमला हुँदा करिब ३०० जनाले ज्यान गुमाएका थिए ।

राजधानी मस्कोमा कन्सर्टमा जम्मा भएका भीडलाई निशाना बनाउनेमध्ये चार संदिग्ध व्यक्ति पक्राउ गरिएको रुसी सुरक्षा अधिकारीहरुले बताएका छन् । घटना लगत्तै राष्ट्रका नाममा सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अपराधीहरुलाई नछोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मृतकहरुप्रतिको श्रद्धाञ्जलीमा भोलि रुसमा राष्ट्रिय शोक घोषणा गरेको छ । ‘कायर अपराधीहरुले हाम्रो नागरिक र बालबालिकालाई निशाना बनाए । उनीहरुलाई हामी छोड्ने छैनौं । जो कोहीबाट निर्देशित भएपनि उनीहरु कारबाहीको दायरामा आउनेछन्’, बीबीसीले पुटिनको भनाइ उद्दृत गर्दै लेखेको छ ।

मुलुकलाई रक्तपातबाट सुरक्षित गर्न सुरक्षामा विशेष ध्यान दिइने उनले बताएका छन् । यो हमला मुलुकलाई विभक्त बनाउने प्रयासमा भएपनि यसबाट विचलित नहुने उनको पुटिनले बताएका छन् ।