Bagmati Samachar Logo

विदेश पठाउन फर्जी कागज बनाएको आरोपमा तीन अधिकृतसहित ३२ जना पक्राउ

काठमाडौं । विदेश पठाउन फर्जी कागज बनाएको आरोपमा तीन जना अधिकृतसहित ३२ जना पक्राउ पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने कन्सलटेन्सि, ट्राभल एजेन्सिलगायत गिरोहसँग मिलेर काम गरेको आरोपमा तीन अधिकृतसहित ३२ जनालाई पक्राउ गरेको हो ।

ट्राभल एजेन्सी सञ्चालक,कन्सल्टेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनका अनुसार गत असोज १९ गतेदेखि हालसम्म नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई पक्राउ गरिएको छ ।

मंगलबार र बुधबार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । केहि ट्राभल सञ्चालकलाई मंगलबार नै पक्राउ गरेका थिए ।

बुधबार पक्राउ पर्नेमा नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत अरविन्द यादव र अध्यागमन विभागमा कार्यरत अधिकृत नरवीर खड्का रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका अधिकृतहरूले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लाभ लिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यसअघि सोही आरोपमा नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए । उनले भने, ‘त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले संकलन गरेर पठाएका एक हजार ३२ थान भिसासहितका कागजातबाट अनुसन्धान गर्दा गिरोहले पर्यटक भिसाका लागि फर्जी कागजात बनाई विदेश पठाउने गरेको भेटिएको हो ।’

उक्त प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी एक जना, पूर्वप्रहरी एक जना, एयरलाइन्सका दुई जना र अन्य ११ जना रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नौ जनामाथि सङ्गठित अपराधमा र १२ जनामाथि लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । यसअघि आठ जना भने धरौटीमा छुटिसकेका छन् ।

ट्राभल एजेन्सीका सञ्चालकमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एन्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल र एड्भान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पक्राउ परेका छन् ।

कागजात मिलाएबापत ट्राभल एजेन्सीहरूले प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने गरेका र अध्यागमन विभागका कर्मचारीहरूले नयाँको हकमा ५५ हजार र पुरानो (एकपटक विदेश पुगेर फर्किएका) हरूको हकमा भने ४० हजार लिने गरेको अनुसन्धानका क्रममा खुलेको प्रवक्ता रेग्मीले बताए ।