३२ वर्षीय युवकविरुद्ध ५२ वटा मुद्दा अधिकां बैंकिङ्ग कसुरका
काठमाडौँ । ओखलढुंगाको चम्पादेवीका स्थानीय शेर बहादुर मगरविरुद्ध ५२ वटा मुद्दा रहेकाल छ । उमेर ३२ पुगेका उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंसिर २४ गते साँझ ललितपुर महानगरपालिका–१५ हात्तिवनबाट पक्राउ गरेको हो । उनी अहिले प्रहरीको नियन्त्रणमा छन् ।
उनलाई २० लाख जरिवाना र दुई वर्ष कैद सजाय भएको मुद्दामा प्रहरीले खोज्दै आएको थियो ।
पक्राउ परेका मगरको आपराधिक हिस्ट्रि खोज्दा अनुसन्धान अधिकृतहरु नै चकित परेका छन्। शेरबहादुर मगरविरुद्ध ५२ वटा फौजदारी मुद्दा दर्ता भएको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र स्रिंह राठौरले बताए ।
उनीविरुद्ध दर्ता भएर फैसला भएका र प्रक्रियामा रहेका अधिकांश मुद्दा बैंकिङ्ग कसुरका छन् । जग्गा कारोबार र हाउजिङ्ग सम्बन्धी काम गर्ने मगरले आर्थिक कारोबार गर्दा दिएको चेक बाउन्स भएको अनुसन्धान अधिकृतहरुलाई बताएका छन् ।
शेरबहादुरबारे अनुसन्धान गरेका एकजना अधिकृतका अनुसार जिल्ला अदालत काठमाडौँबाट फैसला भएका ११ वटा मुद्दा र भक्तपुरबाट फैसला भएको एउटा मुद्दामा ७ करोड ९७ लाख बिगो कायम भएको भेटिएको छ । ती अधिकृत भन्छन्,‘बैंकिङ्ग कसुर मुद्दामा ७ करोड ९७ लाख ५० हजार बिगो कायम भएको भेटिएको छ, अन्य विवरण खोज्दै छौँ ।’
लक्ष्मी कुमार पक्काको जाहेरीले सरकार वादी भएको मुद्दामा दुई वर्ष कैद भएको फैसला भएपछि उनी फरार भएका थिए । त्यसपछि प्रहरीले उनलाई खोज्न थालेको थियो । लामो अनुसन्धानपछि उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए । तर, पक्राउ गरेपछि उनबाट धेरै मानिसहरु पीडित भएको रेकर्ड फेला परेको छ ।
नरेन्द्र प्रसाद सुवेदीलाई उनले ५ करोड ५५ लाख तिर्नु पर्नेगरी अदालतले फैसला गरेको भेटिएको छ । फरक फरक मुद्दामा शेरबहादुरबाट ५ करोड ५५ लाख, १ करोड, ३० लाखका ३ थान, २० लाख, ५ लाख, ४ लाख र २ लाख रकम पीडितलाई भराउन र जरिवाना हुने फैसला भएको अदालतको तथ्यांकमा देखिएको छ ।
रियल स्टेट कारोबारी शेरबहादुर मगरबाट मिठु राना, पूजा पाख्रिन, अनिल महर्जन, विनोद सुवेदी, भिमसेन थापा, विशाल आचार्य, नारायण खड्का र अमृत खनाल सहितका व्यक्तिहरु पीडित भएको थाहा भएको छ ।
शेरबहादुरले कोटेश्वरमा घर बनाएका छन् । करोडौं रकम जरिवाना र पीडितलाई भराउनुपर्ने फैसला भएका उनी सिजी कम्पनीको नेटा गाडी चढ्छन् । उनले चढ्ने बागमती प्रदेश–०१–०२८ च ३५८ नम्बरको नेटा गाडी प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: