Bagmati Samachar Logo

नेकपा स्थापनाको ७५ वर्ष : विवाद, विभाजन र एकताको इतिहास

काठमाडौं । माक्र्सवाद, लेनिनवाद र माओवादको सिद्धान्त मान्ने नेपालका कम्युनिष्ट पार्टीहरु अहिले धेरै भइसकेका छन् । माक्र्स र लेनिन र माओले प्रतिपादन गरेका राजनीतिक, आर्थिक सिद्धान्त लक्ष्य एउटै भएपनि यो ७५ वर्ष पार गरिसक्दा नेपालका कम्युनिष्टहरु भने भिन्न भिन्न पार्टीमा छन् । विचार सिद्धान्त र लक्ष्य एउटै भएर पनि एकले अर्कोलाई आरोप–प्रत्यारोपमै उनीहरु समय बिताइरहेका छन् ।

विश्वका मजदुरलाई एक पार्ने सपना बोकेर हिंडेको नेपाली कम्युनिस्टहरु आफै एक हुन सकिरहेका छैनन् ।
नेपालका कम्युनिष्टहरु अहिले विभिन्न पार्टीमा विभाजित छन् । तर सबै कम्युनिष्ट पार्टीहरुको स्थापना दिवस भने यहि ९ गते मनाउदै आएका छन् ।

वि.सं. २००६ साल वैशाख ९ गते भारतको कलकत्तामा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी अहिले विभाजन भएर धेरै पार्टी बनेको छ । नेकपा स्थापना भएको ७४ वर्ष पुगेको छ । कम्युनिस्ट पार्टी नेपालको राणाशासनको अन्त्य गदै सर्वहारा राज्यसत्ता स्थापना गर्न गठन भएको हो ।

यसका ५ जना संस्थापक नेताहरु थिए । जसमा प्रमुख पुष्पलाल श्रेष्ठ थिए । अन्यमाा निरन्जनगोविन्द वैद्य,नरबहादुर कर्माचार्य, नारणविलास जोशी र मोती देवी श्रेष्ठ हुन् ।

समाजवाद हुदै साम्यवाद स्थापना गर्ने उद्देश्यका साथ स्थापना भएको कम्युनिष्ट पार्टी उनीहरुको यो चाहना त अझै पूरा भएको छैन बरु महान लक्ष्य बोकेका सकम्युनिस्टहरु नै विभिन्न चिरा र विवादमा चोइटिएका छन् । नेपालको कम्युनिस्ट आन्दोलनले ७४ वर्षम निरन्तर गुट र फुटको तितो इतिहास निमार्ण गरेकोछ ।

कम्युनिस्ट विचार र सिद्धान्त मान्ने नेपालीको संख्या पनि बढेको छ । संघीय संसदमा बहुमत संख्या कम्युनिष्टहरुको छ । नेकपा एमाले, माओवादी केन्द्र, एकिकृत समाजवादी, नेमकिपा र राष्ट्रिय जनमोर्चा गरी चार वटा कम्युनिस्ट पार्टीको प्रतिनिधित्व छ । निर्वाचन आयोगमा दर्ता नै नभएका र चुनावमा भाग नलिने कम्युनिस्ट पार्टी पनि धेरै छन् ।

नेपालका कम्युनिष्टहरुले माक्र्सवाद, लेनिनवाद, र माओवाद विचार मान्ने गर्छन् । चाहे त्यो संसदमा होस चाहे त्या सडकमा होस् । तर यीनीहरु मिलेर एउटै कम्युनिष्ट पार्टी भने बनाउन सकिरहेका छैनन् । समाजवाद हुदै साम्यवादमा पुग्ने लक्ष्य भएका कम्युनिष्टहरुको विचार पनि मिल्छ तर पार्टीमा भने एक भएर मिल्न सकिरहेका छैनन् । दिनप्रतिदिन विभाजन हुदै आएका छन् ।

नेपालका कम्युनिष्टहरु राष्ट्रिय विषयमा मात्र होइन अन्तर्राष्ट्रिय विषयमा पनि विवाद भएर विभाजन भएका छन् ।
००६ सालमा स्थापना भएको नेकपाले २००८ सालमा पहिलो सम्मेलन गरेको थियो । भारतको कलकत्तामा असोज ११देखि १६ गते सम्म पहिलो सम्मेलन भएको थियो । ६ सदस्यीय नेतृत्व चयन गरेको थियो । ६ महिना पछि तीन जना थपेर नौ सदस्यीय केन्द्रीय संगठन समिति बनाएको थियो ।

पहिलो महाधिवेशन

पहिलो महाधिवेशन नेपालमा नै गरेको थियो । २०१० साल माघ १३ देखि १७ गतेसम्म ललितपुरमा भूमिगत रुपमा पहिलो महाधिवेशन सम्पन्न भएको थियो । यो महाधिवेशनबाट मनमोहन अधिकारी महासचिव चुनिए । १३ सदस्यीय केन्द्रीय संगठन समित चयन भयो । ५ जनाको पोलिटव्युरो चयन भयो ।

२०१३ सालमा महासचिव मनमोहन अधिकारी उपचारगर्न चिन जादा केशरजंग रायमाझी कार्यबाहक महासचिव बनेका थिए ।

दोस्रो महाधिवेशन

२०१४ साल जेठ १४ गते दोस्रो महाधिवेशन काठमाडौंका फोहोरा दरबारमा खुल्ला रुपमा भएको थियो । नेकपाको देशभरी सदस्य संख्या २ हजार पुगेको बताइन्छ । यो महाधिवेशनमा २ सय जना प्रतिनिधिले भाग लिएका थिए ।
यो महाधिवेशनबाट अन्तर्रविरोधको विजारोपण भएको मानिन्छ । महाधिवेशनमा कार्यक्रम एकको पारित भयो र नेतृत्व अर्को चयन भएको थियो । जसका कारण यो महाधिवेशनबाट महासचिव चयन भएका केशरजंग रायमाझीले पुष्पलालको कार्यक्रम लागु नगरेको बताइन्छ ।

यो महाधिवेशनमा महासचिवको लागि नै चुनाव भएको थियो । १७ जना केन्द्रीय सदस्यमध्ये रायमाझीले १२ मत पाएर महासचिव चुनिए भने पुष्पलाल श्रेष्ठले ५ मत मात्र पाएका थिए ।
२०१५ सालमा संसदमा कम्युनिष्ट

क्रान्तिका विचार र आदर्शलाई पछ्याए पनि प्रजातान्त्रिक प्रकृयामा पनि कम्युनिष्ट पार्टी सहभागी भयो । नेपालको संसदीय इतिहासका सबै कालखण्डमा संसदमा कम्युनिष्टहरुको उपस्थिति पाइन्छ । २०१५ सालको चुनावमा ४ सिटमात्र जितेर कम्युनिष्ट संसदमा पुगेका थिए ।

तेस्रो महाधिवेशन

२०१९ साल वैशाख ४देखि १५ गतेसम्म भारतको बनारसस्थित मयुरगंजको मोतीलाल हलमा नेकपाले तेस्रो महाधिवेशन सम्पन्न भयो । यो महाधिवेशनमा ८८ जना प्रतिनिधिले भाग लिएका थिए । यो महाधिवेशन पनि पुष्पलाल र मोहनविक्रम सिंहबीच विवाद सुरु भयो । राजनीतिक रिपोर्ट तुलसीलाल आमात्यले प्रस्तुत गरेका थिए ।

यो महाधिवेशनमा पुष्पलालले २०१७ सालमा राजा महेन्द्रले विघटन गरेको संसद पुनस्थापनाकोको नारा प्रस्तुत गरे, तुलसीलालले सर्वसत्ता सम्पन्न संसद र मोहनविक्रमका तर्फबाट बलराम उपाध्यद्धारा संविधान सभाको चुनावको नारा प्रस्तुत गरियो । यो महाधिवेशनमा तुलसीलालका नारा पास भयो ।

महाधिवेशनबाट ५१ सदस्यीय राष्ट्रिय परिषद,१७ सदस्यीय केन्द्रीय समिति, र ७ सदस्यीय सचिवालय चयन गर्यो । ७ जना वैकल्पिक पोलिटब्युरो सदस्य पनि चयन गर्यो ।

तीन जनालाई पार्टीबाट निस्कासन गर्यो । जसमा दोस्रो महाधिवेशनबाट चुनिएका महासचिव केशरजंग रायमाझी, पोलिटब्युरो सदस्य शम्भुरा श्रेष्ठ र डीपी अधिकारी थिए ।

नेकपा विभाजनको सुरुवात

२०१९ सालमा भएको तेस्रो महाधिवेशन नेकपाकोलागि विभाजनको सुरुवात बन्यो । यो महाधिवेशन अल्पमतले बुहमत पक्षलाई विभिन्न आरोप लगाएर कारवाहि गरेर गरेको थियो ।

तेस्रो महाधिवेशनबाट तुलसीलालको कार्यक्रम पास भयो । महाधिवेशनबाट तुलसीलाल महासचिव चयन भए । उनको कार्यक्रम थियो राष्ट्रिय प्रजातन्त्र । यो कार्यक्रम २०१७ सालमा नै रुसको राजधानी मस्कोमा ८१ देशका कम्युनिष्ट पार्टीको सभाले पास गरेको कार्यक्रम । त्यहि मस्कोमा भएको सभाबाट पास कार्यक्रमको चीनियाँ कम्युनिष्ट पार्टीले विरोध गरेको थियो ।

यहिबाट विश्वभरीका कम्युनिष्टहरुमा पनि दुई धार देखिन थालेका थिए । सोभियत पन्थी र चिन पन्थी । त्यसको असर नेपालमा पनि पर्न थाल्यो । थप भारतीय कम्युनिष्ट प्रभाव पनि पर्न थाल्यो ।

२०२४ सालमा रायमाझीको नेतृत्वमा रहेको नेकपाले पनि तेस्रो महाधिवेशन काठमाडौंमा सम्पन्न गर्यो ।
महाधिवेशन पछि पुष्पलाल र तुलसीलालको टकराउ पनि दिनदिनै बढ्न थाल्यो । फलत पार्टी विभाजन तर्फ जान थाल्यो ।

नेकपाले तेस्रो महाधिवेशन गरेपनि पार्टी एक ढिक्का हुन सकेन । तुलसीलाल र पुष्पलालबीच विवाद बढ्यो । अन्त पुष्पलालले पनि २०२५ सालमा भारतको गोरखपुरमा तेस्रो सम्मेलनको आयोजना गरेर नयाँ केन्द्रीय समिति निमार्ण गरे । यो नेकपाको दोस्रो विभाजन थियो ।

तेस्रो महाधिवेशनमा नै कारवाहिमा परेका रायमाझीहरुले अर्को तर्पm पार्टी संचालन गरि नै रहे । नेकपाको यो पहिलो विभाजन थियो । रायमाझी १३ सालबाट नै पार्टी नेतृत्वमा आइसकेकाले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमाा परिचित थिए । उनले २०१७ सालको महेन्द्रको कदमको समर्थन गरे । रायमाझीलाई त्यससमयसम्म रुसपन्थी भनिन थालियो ।
विभाजनको श्रृखला सुरु भएपछि पुष्पलालले पनि नेकपालाई एकताबद्ध गर्न सकेनन् । अन्त साना साना समुहमा कम्युनिष्ट संगठित हुन थाले । रायमाझीको रुझान दरबार तर्फ भएर विभाजन सुरु भएको थियो । तर पछि नेकपाको विभाजन मुख्य उद्देश्यमा मत भिन्नता भएर होइन तत्कालीन कार्यक्रम र व्यक्तित्वको टकरावका कारण सुरु भएको छ । रायमाझी बाहिरीय पछि पुष्पलाल र तुलसीलालको टकराव सुरु भयो । दुबैले अलग अलग पार्टी गठन गरे ।
झापा आन्दोलन

२०२७ सालमा नै पूर्वकोशी प्रान्तीय कमिटी मातहत कार्र्यरत झापाका कम्युनिष्टहरुले झापा जिल्ला कमिटी नेकपाको स्थापना गरे । सचिवमा राधाकृष्ण मैनाली चयन भए । १७ जनाको समिति बनाइयो । पति मैनालीलाई क्षयरोग लाग्यो । उनको ठाउँमा केपी ओली चयन भए । सचिवमा सीपी मैनाली चयन भए ।
झापा आन्दोलनको सुरुवात भयो । २०३१ साल तिरबाट झापा आन्दोलनका कयौ कम्युनिष्ट नेता कार्यकर्ताहरु गिरफ्तार भए । कयौलाई जेल चलानको नाममा हत्या गर्यो ।

२०३२ साल माघ १७ गते सिपी मैनाली अरु केहि नेताहरुका साथ झापाबाट गिरफ्तार भए । मैनाली गिरफ्तार भएपछि झलनाथ खनाल कावा सचिव तोकिए । खनाल पनि गिरफ्तार भएपछि अमृत बोहरा कावा सचिव बने । ०३५ सालमा नेकपा माले गठन भयो ।

नेतृत्वहरुबीच टकरावले त्यहाँबाट टुटफुट भएर अन्य साना साना समुहपनि गठन हुन थाले । २०३० सालमा मजदुर किसान सभा, २०३१ सालमा कम्युनिष्ट एकता सम्पर्क समिति, २०३३ सालमा सर्वहारा क्रान्तिकारी संगठन र ०३३ सालमा नै नै मुक्तिमोर्चा समुह अस्तित्वमा आए ।

चौथो महाधिवेशन

तेस्रो महाधिवेशन हुदा जेलमा भएका मोहनविक्रम सिंहले २०२८ सालमा केन्द्रीय न्युक्लस गठन गर्ने प्रयास गरे । सफल हुन सकेनन् । तर यो पक्षले २०३१ भदौ ३० देखि असोज ७ सम्म बनारसमा चौथो महाधिवेशन आयोजना गरे । यो महाधिवेशनबाट नेकपा चौथो महाधिवेशन पार्टीको अस्तित्वमा आयो ।

महाधिवेशनको नारा देशभक्त र प्रजातन्त्रवादीहरुको संयुक्त सरकार । मोहनविक्रम सिंह महासचिवमा निर्वाचित भए । पुष्पलालले राजतन्त्र परास्त गर्न कांग्रेससँग पनि संयुक्त मोर्चा बनाउनुपर्ने धारणा राखेकोमा मोहनविक्रमद्वारा कडा आलोचना गरे ।

चौथो महाविधेशनमा सहभागी भएका मनमोहन अधिकारीले २०३६ सालमा ललितपुरमा एकता सम्मेलन गरेर अलग्गै नेकपा गठन गरे ।

२०३० सालमा लुम्बिनी अञ्चलको किसान आन्दोलन भयो । त्यस आन्दोलनलाई प्रशासनले भीषण दमन गर्यो । अर्घाखाँचीमा हर्रेवर्रे संघर्ष भयो । कम्युनिष्टका कैयौं नेता कार्यकर्ता गिरफ्तार भए ।
त्यस्तै गरी केन्द्रीय न्युक्लियसबाट अलग भएर शम्भुराम श्रेष्ठले नेपाल कम्युनिष्ट लिगको गठन गरे ।
पुष्पलालको पार्टीबाट जीवराज आश्रित, मोदनाथ प्रश्रित, मदन भण्डारी, वामदेव गौतम अलग भएर मुक्ति मोर्चा समूह गठन ।

२०३४ सालमा विभिन्न कम्युनिष्ट घटकहरुका बीचमा एकता भयो । जसमा कार्डिनेशन केन्द्र, मुक्ति मोर्चा, पूर्वको रातोझण्डा र नेत्रलाल अभागीको सन्देश समूहबीच एकताको पहल सुरु भयो । को.के. र मुक्ति मोर्चाबीच एकता भयो ।

२०३५ सालमा नेकपाका संस्थापक नेता तथा पहिलो महासचिव पुष्पलालको निधन भयो । उनको निधनपछि पुष्पलाल पक्षको सम्मेलन सम्पन्न भयो । बलराम उपाध्याय, प्रवक्ता सहाना प्रधानद्वारा पुष्पलालको नीति तथा कार्यक्रम लागू गर्ने प्रतिवद्धता जनाए ।

२०३६ सालमा मनमोहन अधिकारीले ललितपुरमा मोहनविक्रम सिंह र शम्भुराम श्रेष्ठसँग एकता सम्मेलन गरेर नयाँ पार्टी बनाए । सो पार्टी नेकपा मनमोहन समूहले चिनियो । पुनः २०४३ सालमा सहाना प्रधान नेतृत्वको पुष्पलाल समूहसँग एकता गरेर नेकपा (माक्र्सवादी) बनाए ।

२०३६ विद्यार्थी आन्दोलन चर्के पछि जनमत संग्रहको घोषणा भयो । जनमत संग्रहमा नेकपा (माले) को ढुलमुल नीति, चौमद्वारा बहिष्कार अन्य घटकहरु पुष्पलाल, मनमोहन, बर्मा, मानन्धर, रोहित आदि समूहद्वारा सहभागिता जनाए ।
२०३६ सालतिर पश्चिम नेपालमा पनि साउनमा गण्डकी अञ्चलको माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी कम्युनिस्ट दल, अर्घाखाँचीमा कम्युनिस्ट क्रान्तिकारी, माक्र्सवादी लेनिनवादी अध्ययन समूह, कोसी, जनकपुर र वाग्मती अञ्चलमा रहेका समूहले मालेसँग एकता गरे ।

२०३९ सालमा नेकपा (माले) भित्र पार्टी स्वतन्त्रता कि राजनीतिक स्वतन्त्रता भन्ने विषयमा विवाद भयो । तत्कालीन माले महासचिव सी.पी. मैनालीलाई कार्वाही भयो ।

२०३७ सालमा नेकपा पुष्पलाल पार्टीद्वारा पूर्वशर्तसहित जनमत सङ्ग्रहमा जाने घोषणा सहित खुल्ला मञ्चमा पहिलो ऐतिहासिक आमसभा भयो । त्यसपछि मनमोहन समूहद्वारा आमसभा भयो ।

रायमाझी समुहमा विद्रोह

२०३८ सालमा रायमाझी समुहमा विद्रोह भयो । विष्णुबहादुर मानन्धरको नेतृत्वमा विद्रोह भयो । त्यसपछि नेकपा मानन्धर समुह अस्तित्वमा आयो । त्यसको दुई वर्षपछि रायमाझी समुहमा अर्को विद्रोह भयो । उक्त विद्रोह कृष्णराज वर्माले २०४० सालमा विद्रोह गरे । त्यसपछि नेकपा वर्मा अस्तित्वमा आयो । २०४३ सालमा रायमाझी समुहले रायमाझीलाई नै पार्टी बाट निस्कासन गर्यो । पार्टीले आफ्नो नाम नेकपा मातृ समुह राख्यो । रायमाझी अन्तः राजमा विलय भए ।

नेकपा चौम विभाजन

सबै भन्दा ठूलो संगठन भएको चौथो महाधिवेशन (नेकपा चौम) समुहमा पनि विवाद सुरु भयो । यो समुहलाई नेकपा चौम भनिन्थ्यो । चौम विभाजन भएर नेकपा मशाल बन्यो । यसका नेता मोहनविक्रम सिंहलाई यौनसम्बन्त्रीत गलत आचरण भएको भन्दै पार्टी कारवाहिमा परे । उनको ठाउँमा महासचिव चित्रबहादुर केसी चुनिए ।
पाँचौ महाधिवेशनबाट मोहनविक्र पक्षका केसीलाई हटाएर मोहन वैद्य किरण पार्टी महासचिव चुनिए ।
सिंहलाई कारवाहि गरेकाले सिंह पक्षले पनि केन्द्रीय आयोजक समिति गठन गरेर २०४२ सालमा प्रमथ राष्ट्रिय सम्मेलन गरेर पातलो नेकपा मसाल गठन गरे ।

मोहनविक्रम सिंहबाट हरिबोल गजुरेल र बाबुराम भट्टराईले विद्रोह गरेर विद्रोही मसाल गठन गरे ।
फुट र जुटको दोसाँधबाट अघि बढेको नेपाली कम्युनिस्ट आन्दोलन २०४६ साल सम्म आइपुग्दा १२ वटा वाम समूहहरु अस्तित्वमा रहेका थिए । जसमा माक्र्सवादी, माले, नेकपा चौथो महाधिवेशन, नेकपा वर्मा, नेकपा मानन्धर, नेकपा अमात्य, नेकपा मसाल, नेकपा मशाल, नेपाल मजदुर किसान पार्टी रोहित, सर्वहारावादी श्रमिक संगठन नेपाल रुपलाल विश्वकर्मा, नेपाल माक्र्सवादी लेनिनवादी (कृष्णदास) र शम्भुराम समुह प्रमुख हुन ।

एमाले गठन

वि.सं. २०४७ साल २२ पुसमा नेकपा माले र माक्र्सवादीको एकीकरण भइ नेकपा एमाले गठन भएको थियो ।
२०४९ सालमा एमालेले आफ्नो पाँचौ महाधिवेशनबाट जनताको बहुदलीय जनवाद कार्यक्रम ल्यायो । महासचिव मदन भण्डारी चयन भए ।

०५० सालमा एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको चितवनको दासढुङ्गामा रहस्यमय तरिकाले मृत्यु भयो । त्यसपछि महासचिवमा माधवकुमार नेपाल चयन भए ।
छैठौं र सातौ महाधिवेशनमा नेपाल नै महासचिव चयन भए ।

२०५४ सालमा सालमा छैठौं महाधिवेशनमा एमाले विभाजन भयो । नेपालगंन्जमा भएको महाधिवेशनमा वामदेव गौतमकोल नेतृत्वमा माले गठन भयो । ०४७ सालमा एकता भएको एमाले ०५४ सालमा विभाजन भयो ।
०५६ सालको निर्वाचनमा एमाले र मालेबीच चुनावमा एकले अर्कोलाई हराउने अभियान चल्यो । अन्त मालेले एक सिट पनि जित्न सकेन ।

वामदेव गौतमको नेतृत्वमा बनेको नेकपा मालेको संस्थापन समूह २०५८ सालमा पुनः एमालेमा फर्कियो । अर्का नेता सीपी मैनालीले भने मालेलाई निरन्तरता दिए । उनको यो राजनीतिक यात्रा आजसम्म जारी छ ।
गौतम अहिले राष्ट्रिय सभामा सांसद छन् तर उनी दलबिहीन छन् ।

आठौं महाधिवशेनमा एमाले बहुपदमा गएकाले झलनाथ खनाल अध्यक्ष जिते । नवौं महाधिवेशनमा केपी शर्मा ओलीले अध्यक्ष जिते । १० औं महाधिवेशनमा पनि एमाले अध्यक्ष ओली चयन भए ।
अहिलेसम्म आइपुग्दा एमालेले १० औं महाधिवेशन गरेको छ ।

एकता केन्द्र गठन

२०४७ मंसिर ३ गते नेपाल कम्युनिष्ट पार्टी (मशाल), नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन), सर्वहारा मजदुर संघ, नेकपा सर्वहारावादी श्रमिक संगठन र नेपाल कम्युनिष्ट पार्टी (जनमुखी)बचि एकता भएर एकता केन्द्र गठन भयो । त्यसलगत्तै नेपाल कम्युनिष्ट पार्टी (मसाल) छाडेर गएका बाबुराम भट्टराई र शितलकुमार गजुरेललको विद्रोही मसालले पनि एकता केन्द्रसँग एकता गर्यो । जुन लामो समय एकता केन्द्रको नामले चिनियो ।

नेकपा संयक्त गठन

रुसपन्थी भनिएका केही समूह मिलेर २०४८ सालमा नेकपा संयुक्त गठन भयो । यसमा सामेल थिए, नेकपा अमात्य, नेकपा मानन्धर र नेकपा वर्मा । नेकपा संयुक्तबाट वर्मा फेरि छुट्टियो । अमात्य पछि एमालेमा मिसिए । अमात्यका केही कार्यकर्ताले पुनः नेपाल साम्यवादी पार्टी गठन गरे । यो पार्टी पनि पुनः मालेसँग मिल्यो ।

२०४९ देखि जनताको बहुदलीय जनवादको नारा बोकेको नेकपा एमाले र एक्काइसौं शताब्दीको जनवादमा बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई अपनाएर अगाडि बढेको नेकपा माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी नेकपा गठन भएको छ । यी दुबै दल एक भएपछि संघीय संसदमा बहुमत बढी सदस्य छन् । यिनीहरुकै नेतृत्वमा वामपन्थी सरकार देशमा छ । यतिमात्रै होइन ७ प्रदेशमध्ये ६ प्रदेशमा पनि यही दलको नेतृत्वमा सरकार छ ।
नेपालको कम्युनिस्ट पार्टीले २०५१ सालमा सबैभन्दा ठूलो पार्टीको रुपमा पनि संसदमा पुग्यो । संसदको ठूलो पार्टी भए पनि आवश्यक बहुमत भने थिएन, त्यसैले नेकपा एमालेले ९ महिनासम्म अल्पमतको सरकारको नेतृत्व पनि ग¥यो ।
२०६४ मा भएको संविधानसभा चुनावमा सबैभन्दा ठूलो, तेस्रो ठूलोदेखि केही सिट भएका पार्टीहरु संविधान लेख्ने जिम्मासहित संविधानसभामा पुगेका थिए । दोश्रो संविधानसभाको चुनावमा दोश्रो र तेश्रो दलसहित उपस्थिति जनाएका नेपाली कम्युनिस्ट खासमा प्रवृत्ति हो वा विचार ? के माक्र्सवाद, लेनिनवाद वा माओवादका सिद्धान्त र व्याख्या दल र नेता पिच्छे फरक हुनसक्छ ।

माओवादी धारको जग

३० भदौ ७ असोज २०३१ सम्म एउटा पार्टीले चौथो महाधिवेशन ग¥यो । यसलाई पछि नेकपा (चौथो महाधिवेशन) भन्न थालियो । यसमा पनि विभाजन आयो । २०४० सालमा नेपाल कम्युनिस्ट पार्टी (मशाल) बन्यो । २०४० फागुनमा निर्मल लामालगायतले पनि नेपाल कम्युनिस्ट पार्टी (चौम) बनाए ।
मशालले एक वर्षपछि भारतको अयोध्यामा पाँचौं महाधिवेशन ग¥यो । यो पार्टी पनि पछि विभाजित भयो । २०४८ मा एकता केन्द्र बन्यो । तर, यो पनि विभाजित भयो र २०५१ सालमा राष्ट्रिय सम्मेलन ग¥यो । यसको नेतृत्व नरबहादुर कर्माचार्यले गरे । उता, प्रचण्डको नेतृत्वमा नेकपा (माओवादी) बन्यो ।

माओवादी–मसाल एकता

११ पुस २०५७ मा माओवादी र मोहनविक्रम सिंहबाट विद्रोह गरेर बनेको मसालबीच एकता भयो । मसालको नेतृत्व दीनानाथ शर्माले गरेका थिए । माओवादी सशस्त्र विद्रोह सुरु भएपछि एकता गर्ने पहिलो पार्टी भयो, मसाल ।

माओवादी–किराँत मिलन

गोपाल किराँती नेतृत्वको किराँत वर्कस पार्टीले पनि माओवादीसँग एकता ग¥यो । २०६० साल असारमा यी दुवै पार्टीबीच झापामा एकता भएको हो ।

माओवादी र नेकपाबीच एकता

एकता केन्द्र र मसालबाट विद्रोह गर्दै केशव नेपालले कम्युनिस्ट पार्टी गठन गरे । यो पार्टी र माओवादी एकता केन्द्रबीच २२ चैत २०६३ मा एकता भयो । त्यसपछि जोडियो नेकपा मालेमा केन्द्र

माओवादी र नेकपा मालेमा केन्द्रबीच ६ असोज २०६४ मा एकता भयो । मालेमा केन्द्रका तर्फबाट कृष्णदास श्रेष्ठले नेतृत्व गरेका थिए । पछि श्रेष्ठलाई माओवादीको सल्लाहकार समितिको अध्यक्ष बनाइयो ।
माओवादीसँग संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चा

यी दुवैबीच २८ वैशाख २०६४ मा एकता भयो । मोर्चाबाट राममान श्रेष्ठले नेतृत्व गरेका थिए ।

माओवादी र विद्रोही मसालबीच एकता

माओवादी र विद्रोही मसालबीच पनि एकता भयो । यो सानो समूह पनि माओवादीमा मिल्यो । २०६४ जेठमा यो समूहले एकता गरेको थियो । यो समूह मसालसँग असन्तुष्ट थियो । यसको नेतृत्व भानु कँडेल जैसीले गरेका थिए ।
माओवादी र नेमकिपा विद्रोही समूह

यी दुईबीच पनि २०६५ साल जेठमा एकता भयो । विद्रोही समूहको नेतृत्व दैलेखका हर्कबहादुर शाहीले गरेका थिए । उनीसँगै ६ सय ३३ जना माओवादीमा आएका थिए । माओवादीमा आएको ४ वर्षपछि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा गएका शाहीको गत २६ चैतमा निधन भयो ।

माओवादी र डा. लोकेन्द्र शर्मा समूहबीच एकता

शर्मा नेकपा संयुक्तको राष्ट्रिय परिषद् सदस्य थिए । उनी आफूसहित १ सय ९५ जना नेता कार्यकर्तासहित माओवादीमा प्रवेश गरे ।

जितवीर लामा समूहबीच एकता

नेकपा एमाले हुँदै नेकपा एकीकृतको सचिवालय सदस्य थिए । पछि उनले आफ्नै नेतृत्वमा नेकपा एकीकृत पार्टी बनाए । उनले आफ्नो नेतृत्वको सो पार्टीलाई २६ असार २०६५ मा माओवादीमा मिलाए ।

माओवादी र नेकपा एकता केन्द्रबीच एकता

नेकपा (माओवादी) बन्नुअघि एकै ठाउँमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ फेरि एक ठाउँमा आइपुगे । श्रेष्ठ नेतृत्वको एकता केन्द्र र माओवादीबीच २९ पुस २०६५ मा एकता भयो । यसको औपचारिक घोषणा भने २२ माघमा भयो ।

पार्टी एकतापछि माओवादीको नाम परिवर्तन भएर एकीकृत नेकपा (माओवादी) भयो । यो एकताका क्रममा नेकपा (माओवादी) ले पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन २०५७ बाट पारित गरेको ‘प्रचण्डपथ’ छाड्यो ।
माओवादी विभाजन

शान्ति प्रक्रियामा आएको ६ वर्षपछि २०६९ सालमा माओवादी विभाजित भयो । काठमाडौंको बौद्धमा भेला गरेर २०६९ साल असार २ गते मोहन वैद्य नेतृत्वमा नेकपा–माओवादी बन्यो । प्रचण्डसँग वैचारीक विमति राखेर वैद्यसहितको ठूलो टिमले नयाँ पार्टी बनाएपछि विधिवत रुपमा माओवादी विभाजन भयो ।

वादलसहित साना घटक माओवादीमा फर्के

वैद्यसँगै गएका रामबहादुर थापा ‘बादल’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को एक समूह ६ जेठ २०७३ मा पुनः प्रचण्ड नेतृत्वको एनेकपा माओवादीमा आयो ।

१० घटकबीच एकता भएर नेकपा (माओवादी केन्द्र) बन्यो । यो चरणमा एकतामा आउन मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादीका नेता वादलले १ जेठ २०७३ मा अलग समूह बनाए । उनको समूह एकतामा आउनेमध्ये सबैभन्दा ठूलो समूह थियो ।

२०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री रहेका मातृका यादव नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा (एकता केन्द्र)सँगको एकताका क्रममा अलग भएका थिए । उनी पनि सोही दिन माओवादी केन्द्रमा मिसिए भने २०६२ सालबाट अलग भएका मणि थापा , जयपुरी घर्ती पनि यही दिन पार्टी एकतामा सहभागी भए । यही दिनबाट नेकपा (माओवादी केन्द्र) बन्यो ।

माओवादी केन्द्र र नेकपा (संयुक्त)बीच एकता

नेकपा माओवादी केन्द्र र नेकपा (संयुक्त)बीच पार्टी एकता भयो । गणेश शाहले पार्टी एकता गरेका थिए । धेरै लामो समयदेखि रुसपन्थीको नामले चिनिने यो समूहले माओवादी केन्द्रसँग एकता गरेको थियो ।

माओवादी केन्दसँग नयाँ शक्ति

माओवादी छोडेर नयाँ शक्तिमा आबद्ध देवेन्द्र पौडेल ६ भदौ २०७४ मा माओवादी केन्द्रमा फर्किए । उनी पनि आफूसँगै ठूलो समूह लिएर फर्किएका थिए । यही दिन विप्लवका केन्द्रीय सदस्य जीवन खत्री पनि माओवादी केन्द्रमा समाहित भएका थिए

विप्लवले गठन गरे नेकपा

विसं २०७१ मंसिरमा नेत्रविक्रम चन्द विप्लवले वैद्यसँग विद्रोह गरेर नयाँ पार्टी गन गरे । कपिलवस्तुको शिवगढीमा आफू निकटहरुको भेला गरेर पार्टी गठन गरेका हुन् । उनले पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखेर कहिले खुल्ला ,कहिले अर्धभूमिगत र कहिले पूर्ण भूमिगत भएर काम गरे ।

यो पार्टीले आपराधिक गतिविधि गरेको भनेर २९ फागुन २०७५ सालमा प्रतिबन्ध लगाएको थियो ।
यो पार्टीले ०७४ सालको स्थानीय तहको निर्वाचन र प्रदेश र प्रतिनिधि सभाको निर्वाचन बहिस्कार गरेको थियो । प्रतिबन्ध पछि यो पार्टीका धेरै नेताहरु गिरफ्तारीमा परेका थिए ।

२०७७ साल २० फागुनमा सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भयो ।
सरकारले २०७५ सालमा लगाएको विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्यो । सहमतिअनुसार विप्लव समूहका नेता–कार्यकर्ताहरू माथि लगाएका मुद्दा फिर्ता गरेर धेरैलाई रिहाइ गर्यो । तर अझै ४४ जना जति नेताकार्यकर्ता जेलमा छन् ।

बाबुरामले माओवादी छोडे

संविधान जारी भएलगत्तै २०७२ असोज ९ मा पत्रकार सम्मेलन गरेर बाबुरामले माओवादी परित्याग गरे । उनले त्यो दिन भनेका थिए, ‘चुहिएको घरमा फर्केर जाने होइन, नयाँ घर बनाउने हो ।’ पत्रकार सम्मेलनमा भट्टराईले पटक पटक संविधान जारी भएपछि पुरानो राजनीतिक दलको औचित्य सकिएको दाबी गरेका थिए ।

‘पुँजीवादी क्रान्ति सम्पन्न गर्नका लागि नेकपा माओवादी बनाएका थियौँ, अब एउटा कालखण्डको काम पूरा ग¥यौँ, अब त्यही पुरानो पार्टी अगाडिको दिशामा पुग्दैन । त्यसका लागि नयाँ सोच आवश्यक भइसकेको छ‚’ भट्टराईले भनेका थिए । बाबुरामले एमाओवादी छोडेपछि प्रचण्डले भनेका थिए, ‘मैले ३० वर्ष बाबुरामलाई झेले कसैले तीन वर्ष झेलेर देखाइदिऊन् ।’ नयाँ सोच र नयाँ घरको कुरा गरेर माओवादी परित्याग गरेका बाबुराम करिब सात वर्षपछि माओवादीको चुनाव चिह्नमा चुनाव लड्न पुगेका छन् । तर उनी अहिलेपनि आफू अब कम्युनिष्ट नभएको बताउछन् ।

नेकपा विभाजन भएर बहुमत गठन

विप्लव नेतृत्वको नेकपा पनि २०७९ साल जेठमा विभाजन भयो । धमेन्द्र वास्तोलाको संयोजकत्वमा नेकपा बहुमत गठन भएको छ । यो पार्टीले अहिले खुल्ला रुपमा राजनीति गतिविधि गरिरहेको छ । तर गत मंसिरमा भएको प्रदेश सरमा र प्रतिनिधि सभाको निर्वाचन बहिस्कार गरेको थियो ।

चुनावी मोर्चा हुँदै एकता

नेकपा एमाले र माओवादी केन्द्रबीच दाउपेचको राजनीति धेरै भयो । कहिले नजिकिए भने कहिले एकले अर्कोलाई सक्ने दाउमा लागे । एमालेमा दुई धार थिए । एक धार माओवादीसँग सहकार्य गरेर जानुपर्छ भन्ने र अर्को निषेधको राजनीति गर्नुपर्छ भन्ने । तर, २०७२ सालको भूकम्पले सबै राजनीतिक दललाई एकै ठाउँमा ल्यायो । संविधानसभाबाट संविधान बन्यो ।

नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेबीच १७ असोज २०७४ मा चुनावमा संयुक्त मोर्चा बनाएर जाने सहमतिसहित ६ बुँदे सहमति भयो । यो सहमति हँुदासम्म नयाँ शक्ति पार्टी नेपाल पनि सहभागी थियो । तर, पछि उसले मोर्चा छोड्यो । नयाँ शक्तिले २७ असोजमा मोर्चाबाट बाहिरिएको घोषणा ग¥यो ।

यही मोर्चाबाट एमाले र माओवादीले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार चुनावमा उतारे । साझा घोषणापत्र बनाएर चुनाव लडेका यी दुवै पार्टीले लगभग दुई तिहाइको नजिक संसदमा प्रतिनिधित्व गरे । गत ७ फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा ७ बँुदे सहमति भयो ।

३ जेठ २०७५ मा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको स्मृति दिवसका दिन दुवै पार्टीले विधिवत रुपमा पार्टी एकताको घोषणा गरे । घोषणा हुनुपहिले धेरै बैठक, भेटघाट र छलफल गरेर निष्कर्षमा पुगेका थिए । कार्यदलहरु बनेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको तीन वर्ष पछि सर्वोच्च अदालतले पुन एमाले माओवादी अलग अलग बनाइ दियो ।

निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष भएको नेकपासँग नाम जुधेको भनेर अदालतले नेकपालाई पूर्ववत अवस्थामा नै फर्काइ दियो ।

तर यहाँ सम्म आउदा सरकारमा भएको नेकपामा विवादले उग्र रुप लिइसकेको थियो । करिब करिब दुई तिहाइको नेकपाको सरकार थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल पुस ५ र २०७८ साल जेठ ८ गते मध्यरातमा संसद विघटन गरे । त्यसपछि झन नेकपामा विवाद बढ्यो ।

एक पक्षले अर्को पक्षलाई कारवाहि गर्नेदेखि संसद विघटनको विरुद्धमा सडकमा आन्दोलन नै नेकपाले गर्यो ।
नेकपा स्थापना भएको ७० वर्ष पछि पुनः नेकपा बनेर पनि विभाजन भयो । नेपालको राजनीति इतिहासमा कम्युनिष्ट पार्टी झण्डै दुई तिहाइ सिटसहित सरकार बनाएको थियो । तर आन्तरिक कलहले त्यो सरकार र पार्टी तीन वर्ष भन्दा बढी टिक्न सकेन ।

एमालेमा विभाजन

नेकपा एमालेमा २०७८ साल ९ भदौमा दोस्रो पटक विभाजन आयो । ०५४ सालमा विभाजन भएर ०५८ सालमा एकता भएको एमाले नेकपा बनेर पुन एमाले माओवादी अलग भएपछि विभाजन भएको छ । माधव नेपालको नेतृत्वमा नेकपा एकिकृत समाजवादी गठन भएको छ ।

आहुती नेतृत्वमा पार्टी गठन

नेकपा (माओवादी केन्द्र)ले एमालेसँग एकता गर्ने घोषणा गरेपछि २०७५ साल वैशाख २२ गते विश्वभक्त दुलाल ‘आहुति’लेको नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल गठन भएको छ । माओवादी पार्टीबाट बाहिरीएर पार्टी गठन गरेका हुन् ।

विशेष भेलाले वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको विचारधारात्मक र राजनीतिक कार्यदिशा पारित गरेर पार्टी गठन गरेका थिए ।

अहिले संसदमा भएको दोस्रो ठूलो कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमाले नै छ ।

विगतमा विभाजित हुँदै आएको नेपालको कम्युनिस्ट आन्दोलन अहिले पनि निरन्तर विभाजित नै छ । अझै पनि धेरै कम्युनिस्ट पार्टी सत्ता बाहिर छन् ।