Bagmati Samachar Logo

चिनियाँ उपमन्त्री येझाउको टोली काठमाडौँ ओर्ले लगतै भेटघाटमा व्यस्त

काठमाडौँ ।१२ पुस ।  चिनियाँ राष्ट्रपति सि चिनफिङको सन्देश बोकेर नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येझाउ राजनीतिक भेटघाट शुरु गरेका छन् ।

तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीलाई एक ठाउँमा ल्याउने मुख्य भूमिका निर्वाह गरेका येझाउ पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसँगै नेकपामा देखिएको विवाद अन्त्यको उद्धेश्यले नेपाल भ्रमण गरेका हुन् ।

यो भ्रमणको सम्पूर्ण तयारी नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले गरेकी हुन् । येझाउको राजनीतिक टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । टोली काठमाडौँ ओर्ले लगत्तै राजदूत होउ यान्छीको व्रिफिङपछि राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति विद्योदवी भण्डारीसँग भेटवार्ता गरेपछि प्रधानमन्त्री भेट्‍न बालुवाटार पुगेको हो । सो टोलीले राष्ट्रपति भण्डारीसँग लामो छलफल गरेको थियो ।

नेकपा विभाजनबाट रोक्नका लागि हुन सक्ने उपायको विषयमा राष्ट्रपतिसँग परामर्श गरेको एक स्रोतले बतायो । चिनियाँ राष्ट्रपतिको विशेष सन्देश बोकेर आएको राजनीतिक टोली नेपालमा चार दिन बस्नेछन् । त्यसपछि टोली दुई खेमाका नेता भेट्ने शैलीमा शुरुमा प्रधानमन्त्री ओलीलाई भेट्‍न बालुवाटार पुगेको हो । अहिले टोली बालुवाटारमा प्रधानमन्त्रीसँग लामो छलफलमा छ ।

नेकपामा आएको फुटबाट चिन्तित बनेको चिनियाँ कम्युनिस्ट पार्टीले पुनः दल मिलाउन टोलीलाई काठमाडौँ पठाएको हो । यस बीचमा उनीहरुले नेकपा अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा बादल, नेकपा नेता कृष्णबहादुर महरा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा लगायतलाई भेट्ने कार्यक्रम रहेको छ ।