Swornakshar Logo

महोत्तरी पुगेर प्रचण्डले भने आन्दोलन गर्नु नपरोस्

१३ कार्तिक । महोत्तरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसको विकासका लागि आफू आन्दोलन गर्न तयार हुने बताए । महोत्तरीको पिपरामा बुधबार छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले यस्तो कुरा बताएका हुन ।

‘जनकपुर पिपरा(जलेश्वर भित्तामोडको बाटोको विषयमा भौतिक पूर्वाधार मन्त्रीसँग आजै मैले कुरा गरेको छु’ प्रचण्डले भने, ‘यो सडकको विषयमा काठमाडौं फर्किएर प्रधानमन्त्रीसँग कुरा गर्नेछु र युद्धस्तरमा काम भएन भने म पार्टी अध्यक्ष भएर पनि मधेशमा गएर आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्नेछु ।’


प्रचण्डले विकास निर्माणले गति नलिए आफूसमेत अनसन बस्ने स्थिति आउन सक्ने बताएका हुन्।
तराई मधेशमा भइरहेका विभिन्न विकासका आयोजनाको नाम लिएर उनले ति आयोजनाको अहिलेसम्म भइरहेको प्रगति सैह्य नहुने बताए। दोस्रोपटक प्रधानमन्त्री हुँदा शिलान्यास गरेको जनकपुर–भिट्टामोड सडकको कार्यप्रगति निकै सुस्त भएको भन्दै उनले असन्तोष व्यक्त गरेका हुन्। उनले भने, ‘अहिलेसम्म जे भयो भयो, अब यस्तो ढिलासुस्ती सैह्य हुँदैन। अहिलेसम्म यहाँ रामकुमार शर्माजीहरु मात्रै आन्दोलनमा हुनुहुन्थ्यो। अब पनि ढिला सुस्ती भयो भने मसमेत अनसन बस्न नपरोस्।’

उनले १६ वर्षसम्म हुलाकी सडकको काम अघि नबढेकोप्रति पनि असन्तुष्टि जनाए। भारतले बनाउन सुरु गरेको यो सडक यस्तै अवस्थामा राखे आफूहरुले नै बनाउने कुरा भारतसँग राखिएको उनले जानकारी दिए।

प्रचण्डले तराई मधेशका जनतासँग आफ्नो गहिरो प्रेम रहेको पनि दोहोर्याए। आफुले संविधान संशोधन गर्न दुई पटकसम्म प्रयास गरेको स्मरण गर्दै उनले काठमाडौं फर्केर प्रधानमन्त्री केपी ओलीसँग संविधान संशोधनका लागि छलफल गर्ने आश्वासन पनि दिए।

प्रचण्डले मंसिर १४ गते हुने उपनिर्वाचनमा भ्रष्टाचार विरोधीलाई मत दिन आग्रह पनि गरेका छन्।