Swornakshar Logo

सिंगापुरबाट फर्किएलगत्तै प्रधानमन्त्री सक्रिय, अध्यक्ष दाहालसँग भेट

२० भदौ । काठमाडौं । सिंगापुरमा उपचार गरेर फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली नियमित काममा फर्किएका छन्। सिंगापुरमा दुई हप्तासम्म उपचार गरेर शुक्रबार स्वदेश फर्केका हुन । फर्किएलगत्तै प्रधानमन्त्री ओली र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच संवाद भएको छ । नेकपाका एक अध्यक्ष ओलीलाई भेट्न अर्का अध्यक्ष दाहाल दिउँसो बालुवाटार पुगेका हुन्। दुई नेताबीच सरकारको गतिविधि, सचिवालय बैठक र नेकपाको एकताको बाँकी प्रक्रियाबारेमा संवाद भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
अध्यक्ष दाहालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारेमा पनि विस्तृतमा जानकारी दिएका छन्। ‘प्रधानमन्त्री सिंगापुरबाट फर्किएलगत्तै नियमित काममा फर्किनु भएको छ। चिकित्सकले पनि नियमित काममा फर्किन कुनै समस्या नरहेको बताएका छन्’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने, ‘दुई अध्यक्षबीचको भेट नियमित प्रक्रिया हो।’ मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि प्रधानमन्त्री गत भदौ ५ गते त्यसतर्फ गएका थिए। उनको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो। उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा छलफल गरेका थिए।