Swornakshar Logo

भोजपुर घटनाः विवादपछि लछारपछार, त्यसपछि गोली हानाहान

२५ असार काठमाडौँ । प्रतिबन्धित नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता र प्रहरीबीच भोजपुरमा दोहोरो भिडन्त हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विप्लव नेकपाका ओखलढुङ्गाका जिल्ला इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जिव राई रहेका छन् ।

भोजपुरको शनिबारे भन्ने स्थानमा रहेका पानधारे होटलमा भएको उक्त घटनामा अर्का प्रहरी जवान खोमनाथ भट्टराई घाइते भएका छन् ।

घाइते भट्टराइको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए । भट्टराईको दाहिने कुमको हड्डी भाँच्चिएको खतिवडाले बताए । प्रशासनले घटनापछि जिल्लामा सुरक्षा बढाएको छ ।

यसरी भयो घटना
भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेका अनुसार बुधबार विहान ८ः४५ बजे भोजपुर नगरपालिका ७ हटियालाइनको पानधारे होटलमा विप्लवका कार्यकर्ता नीरकुमार बसिरहेका थिए । त्यहीबेला चिया खान सादा पोशाकका प्रहरी सञ्जीव राई पनि होटलमा पुगे ।

त्यही क्रममा उनीहरुबीच कुराकानी सुरु भयो । कुराकानीकै क्रममा हतियारको कुरा निस्कियो र विवाद बढ्दै जाँदा चर्काचर्की भयो । त्यसपछि उनीहरुबीच केहीबेर लछापछार र ठेलमठेल पनि चल्यो ।

त्यतिकैमा विप्लवका कार्यकर्ता राईले प्रहरीलाई कोखामा गोली हाने । उनी त्यही ढले । उनी ढलेपछि सञ्जिवसँगै रहेका अर्का प्रहरीले नीरकुमारमाथि फायर खोले । त्यसपछि स्थिति तनावग्रस्त जस्तै बन्यो । थप प्रहरी घटनास्थल पुगे । तत्कालै दुवैलाई अस्पताल लगियो । जिल्ला अस्पतालले दुवैलाई मृत घोषणा गर्यो । घटनास्थलबाट प्रहरीले एउटा चाइनिज पेस्तोल र ६ राउण्ड गोली बरामद गरेको छ ।

को हुन् नीरकुमार ?
ओखलढुंगा जिल्ला इन्चार्ज नीरकुमार राइ भोजपुरकै हुन् । उनी भोजपुर जिल्ला षडानन्द नगरपालिका १३ वोयाका बासिन्दा हुन् । उनी प्रायः भोजपुर र ओखलढुङगा आउनेजाने गरिरहन्थे । प्रहरीका अनुसार उनले भोजपुरमा चन्दा सङ्कलन समेत गर्ने गरेका थिए ।

को हुन् सन्जिव ?
मारिने प्रहरी जवान सञ्जिव राईको घर खोटाङ हो । उनी विगत तीन बर्षदेखि भोजपुरमा कार्यरत थिए । गत निर्वाचनका वेला सन्जिव नेकपा नेता एवं संघीय सांसद सुदन किराँतीका सुरक्षा गार्डका रुपमा पनि खटिएका थिए । नेता किरातीका अनुसार सञ्जिव मिलनसार र कामप्रति निष्ठावान थिए । सांसद किराँतीले घटनाले दुःखी बनाएको प्रतिकृया दिए ।

दुवैको निगरानी बढ्दो
गत जेठ ७ गते प्रहरीको गोली लागेर घाइते भएका विप्लव समूहका कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएपछि विप्लव समूहले आफ्ना गतिविधि बढाएको थियो ।

त्यस्तै प्रहरी प्रशासनले पनि विप्लव समूहमाथि आफ्नो निगरानी र सुरक्षा सर्तकता थप बढाएको थियो । जेठ सातमा भोजपुरको धोद्रे जङ्गलमा दुबैपक्षबाट गोली हानाहान भएपछि प्रहरीको गोली लागेर षडानन्द नगरपालिका २ का ३२ वर्षीय तीर्थराज घिमिरेको मृत्यु भएको थियो । तर, विप्लव समूहले आफ्ना कार्यकर्ता घिमिरेको भिडन्त नभई हत्या गरेको आरोप लगाउदै आएको थियो ।

सांसदले मागे जवाफ
भोजपुरमा भएको यो घटनाबारे बुधबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा पनि कुरा उठेको छ । काँग्रेस सांसद डा। डिला संग्रौला पन्तले भोजपुर घटनाबारे गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई जवाफ दिनुपर्ने बताइन् ।

‘यो संवेदनशील विषय हो । सुरक्षा व्यवस्था के भइरहेको छ रु भोजपुरमा भिडन्त भयो र मान्छेको मृत्यु भएको छ, वास्तविकता के हो रु’ सांसद पन्तको प्रश्न छ ।