Swornakshar Logo

ब्राजिलमा लुलालाई जेल हाल्न षडयन्त्र गरिएको खुलासा

एजेन्सी
५ असार । काठमाडौं । ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भालाई गत वर्षको राष्ट्रपति निर्वाचनमा भाग लिन नदिन षडयन्त्र गरिएको खुलासा भएको छ । ब्राजिलको एक अनलाईन म्यागेजिन ‘द इन्टरसेप्ट, ब्राजिल’ले तत्कालिन न्यायाधीश सर्जियो मोरो र अभियोजन पक्षका अधिवक्ताबीचको एसएमएस म्यासेज सार्वजनिक गरेपछि लुलामाथि षडयन्त्र गरिएको खुलासा भएको हो । ‘अपरेशन कार वास’ नाम दिइएको, ब्राजिलको सबैभन्दा ठुलो भ्रष्टाचारविरुद्धको अभियान भनिएको कारवाहिका क्रममा लुलालाई फसाउन षडयन्त्र गरिएको खुलासा द इन्टरसेप्टले गरेको छ ।

ब्राजिलको कानून अनुसार अभियोजन पक्षको अधिवक्ता र त्यहि अभियोग हेरिरहेका न्यायाधीशबीच कुराकानी हुनुहुँदैन ।

मोरो अहिले ब्राजिलको सरकारका न्याय मन्त्री छन् । लुलालाई फसाउन षडयन्त्र गरेकै कारण मोरोलाई उपहार स्वरुप मन्त्री पद दिइएको दाबी पनि गरिएको छ ।

मोराले आफुले कुनै गल्ति नगरेको दाबी गरेका छन् । बरु एउटा अधिवक्ताको मोबाइलको डाटा खानतलासी गर्नु गैर कानुनी र आपराधिक काम भएको उनको भनाई छ ।

ब्राजिलका बार एशोसिएनका अध्यक्षले मोरोको राजिनामा माग गरेका छन् । बारका अध्यक्ष माराकार भिनिसियसले न्याय मन्त्री भएका कारण प्रहरी प्रशासन मोरोकै नियन्त्रणमा हुने भएकोले उनले अनुसन्धान प्रभावित पार्न सक्ने हुँदा उनले राजिनामा दिनुपर्ने माग गरेका छन् ।

अनलाइन म्याजिनले भने आफुले खुलासा गरेका सामाग्री समुद्रमा दुबेको निकै ठुलो बरफ पीण्डको टुप्पो मात्र भएको दावी गरेको छ ।