Swornakshar Logo

भारतमा लोकसभा चुनावः अन्तिम चरणको मतदान सुरु


८ राज्यका ५९ वटा सिटका लागि मतदान हुँदै

५ जेठ । काठमाडौं । भारतको तल्लो सदन लोकसभाको अन्तिम चरणको मतदान सुरु भएको छ । आइतबार बिहानैदेखि सातौं तथा अन्तिम चरणको मतदान सुरु भएको हो ।

यो चरणमा केन्द्र शासित चन्डीगढसहित उत्तर प्रदेश, विहार, तमिनाडु, मध्य प्रदेश, पश्चिम बंगालसहित ८ राज्यका ५९ वटा सिटका लागि मतदान सुरु भएको हो ।

यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीको वाराणसी क्षेत्रमा पनि यसै चरणमा मतदान भइरहेको छ । यो निर्वाचनमा सबैभन्दा बढी मतदाताले सहभागिता जनाइरहेको पश्चिम बंगालका ९ सिटमा आइतबार मतदान भइरहेको छ ।

सातौं चरणको मतदान अन्तर्गत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गोरखपुर क्षेत्रको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले पटनाबाट मतदान गरेका छन् भने उपमुख्यमन्त्री सुशील मोदीले पन्तनगर मदतान केन्द्रमा पुगेर मतदान गरेका छन् ।
यो चरणमा १० करोड १७ लाख मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नेछन् ।

सातौं चरणको निर्वाचनमा ५९ सिटका लागि ९१८ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले बढीभन्दा बढी मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । यो चरणमा पञ्जाब र उत्तर प्रदेशका १३–१३, पश्चिम बंगालका ९, बिहार र मध्य प्रदेशका ८–८, हिमान्चल प्रदेश र झारखण्डका ४–४ तथा केन्द्र शासित चन्डीगडको एक सिटमा मतदान भइरहेको हो ।