Swornakshar Logo

प्रदेश ३ मा नाम र स्थायी राजधानीको विषयमा सत्तारुढ दलभित्रै असन्तुष्टि

३१ बैशाख । हेटौडा । प्रदेश ३ को सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश सांसदहरुले प्रदेशको नाम र स्थायी राजधानीको विषय नटुंगिएको भन्दै नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार हेटौंडामा बसेको प्रदेश ३ नेकपा संसदीय दलको बैठकमा अधिकांश सांसदले नेतृत्वलाई नाम र राजधानीको विषयमा निर्णय लिन ढिलाइ भएको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

प्रदेशसभा गठन भएको डेढ वर्ष बितिसक्दा पनि राजधानी र नामकरणबारे पार्टीभित्र नै अन्योलताका कारण धेरै लामो समय लागेको गुनासो गरेका छन् ।
सांसदहरुले असन्तुष्टि जनाएपछि संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले प्रदेश सरकारले बजेट प्रस्तुत गर्नुअघि वा पछि राजधानीको प्रक्रिया सुरु गर्ने बताए ।

संसद् अवरुद्ध गरिरहेको नेपाली कांग्रेससँग सहमतिका लागि वार्ता भइरहेको उनले बताए ।

संसदीय दलको बैठकमा आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि ल्याइने नीति तथा कार्यक्रम र बजेटको प्राथमिकताबारे पनि छलफल भयो । सहभागी सांसदहरुले समाजवाद उन्मुख, उत्पादन र रोजगार सिर्जना गर्ने बजेट ल्याउन सरकारलाई सुझाए ।

गत वर्षको बजेट कार्यान्वयन हुन नसकेकोप्रति पनि सांसदहरुले असन्तुष्टि जनाए ।

नेकपा प्रदेश ३ का संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकमा नेकपाका प्रदेश ३ का इन्चार्ज तथा सांसद अष्टलक्ष्मी शाक्य, मुख्यसचेतक फुयाँल, प्रदेशका मन्त्रीलगायत अधिकांश सांसदहरु सहभागी थिए ।

मंगलबारको बैठकमा १० जना सांसदले मात्र आफ्ना कुरा राखेका छन् । अरु ३१ जना सांसदले बोल्नका लागि नाम टिपाएका छन् । संसदीय दलको बैठक भोलि पुनः बस्नेछ ।