Swornakshar Logo

श्रीलङ्का आक्रमणमा ज्यान गुमाएकाहरुको सामूहिक अन्त्येष्टि

श्रीलङ्कामा भएको बम आक्रमणमा ज्यान गुमाएकाहरुको म‌ंगलबार सामूहिक अन्त्येष्टि गरिएको छ । पुरै देशमा तीन मिनेटको मौनधारण गर्दै आगामी दिनहरुमा यस्तो अप्रिय घटना नघटोस् भनेर देशमा संकटकालको घोषणा गरिएको छ। हमलामा ज्यान गुमाउनेको सङ्ख्या ३ सय १० पुगिसकेको छ भने घाइते हुनेको सङ्ख्या ५ सय नाघेको छ ।

इस्लामिक स्टेटले तीन दिनपछि मंगलबार आफ्नो सञ्चार माध्यम ‘अमाक’मार्फत यो हमलाको जिम्मेवारी लिएको छ । यो भन्दा पहिले इस्लामिक स्टेटले कुनै घटनाको जिम्मेवारी लिनुपर्दा तुरुन्तै लिन्थ्यो ।

तर यतिबेला भने यसले घटना घटेको तीनदिनपछि मात्र हमलाको जिम्मेवारी लिएको छ ।

ईस्लामिक स्टेटले जिम्मेवारी लिए पनि कुनै ठोस प्रमाण भने दिएको छैन । प्रहरी अधिकारीहरुले यस बम हमलामा कुनै अन्तर्राष्ट्रिय सञ्जालको हात रहेको आशंका गरेकोे थियो ।

अहिलेसम्म यस हमलामा संलग्न भएको आशंकामा ४० जनालाई हिरासतमा लिइएको छ भने २६ जनासँग पुछताछ भइरहेको छ । हिरासतमा लिइएकामध्ये अहिलेसम्म जम्मा ९ जनालाई मात्र अदालतमा उपस्थित गराइएको छ ।