Swornakshar Logo

तोकिएकै समयमा होला त राजापाको महाधिवेशन ?

२३ चैत । काठमाडौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पहिलो महाधिवेशन तोकिएको मितिमा नहुने नहुनेमा विस्तार बहस सुरु भएको छ । नयाँ बर्षको सुरुमा नै हुने भनिएको महाधिवेशन हुने नहुनेमा राजपामा बहस सुरु भएको छ । तोकिएको समयमा महाधिवेशन हुने हो भने बैशाख ७,८ र ९ गतेमा महाधिवेशन हुनु पर्ने हुन्छ । तर तोकिएको मितिमा महाधिवेशन सम्पन्न हुनेमा नेता कार्यकर्तामा भने आशंका उत्पन हुन थालेको एक नेताले बताए । पार्टी नेतृत्वले गत आइतबार साँझ बारा र पर्सामा आएको आँधीलाई देखाएर मिति सार्ने तयारी गरेको पार्टीका केहि नेताहरुले बताउछन् ।
२०७४ बैशाख ७ गते विभिन्न ६ वटा दल मिलेर एकीकरण भएको राजपा नेपालले एक वर्षभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । पार्टी अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले अहिलेसम्म पनि पार्टी नेतृत्व तोकिएकै मितिमा महाधिवेशन गर्ने तयारीमा रहेको दाबी गरे । कुनै प्राविधिक समस्या आइहालेको खण्डमा भने पार्टीको बैठक बसेर नयाँ मिति तय गरिने बताए ।

रायले भने ‘अहिलेसम्म बैशाखमै महाधिवेशन गर्ने गरि तयारी भइरहेको छ, तयारी पुगेन भने त्यसको बारेमा पार्टीले बैठक बसेर तय गर्नेछ,।’ उसो त अहिले जिल्लाहरुमा पनि महाधिवेशनका बारेमा छलफल भइरहेको छ ।
उनले थपे, ‘बारा–पर्सामा आएको विनाशकारी हावाहुरीले पनि महाधिवेशनलाई प्रभावित गरेको छ । पार्टीका नेता तथा कार्यकर्ताहरु त्यहाँ पीडितलाई उद्धार, राहत तथा अन्य व्यवस्थापनमा लागेको कारणले तयारीमा पर्याप्त ध्यान दिन पाइएको छैन । म स्वयम् पनि अहिले यही छु ।’

उनले यस्तो दाबी गरेपनि पार्टीले आँधी अघि पनि जुन तहमा तयारी गर्नुपर्ने हो त्यो तहमा तयारी भएको थिएन । राजपा नेपाल अध्यक्षमण्डलको बैठकले चैत १५ गतेसम्म साधारण सदस्यता लिनका लागि समय तोकेको थियो । साधारण सदस्यता लिने मिति सकिए पनि त्यसको प्रतिवेदन केन्द्रमा आइपुगेको छैन । केन्द्रले स्वीकृत नगरेसम्म सदस्यहरुले आधिकारिकता पाउने छैनन् ।

महाधिवेशन समयमा गर्न दवाव

यता राजपाका दोस्रो तहका नेताहरुले तोकिएको समयमा महाधिवेशन सम्पन्न गराउन नेतृत्वलाई दवाव दिएका छन् ।

पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, उपाध्यक्ष वृषेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ला लगायतका नेताहरु अध्यक्षमण्डललाई भेटेर राजनीतिक समितिको बैठक बोलाउनका लागि माग गरेका छन् ।
उनीहरुले चैत ४ गते तत्कालीन अध्यक्षमण्डलका संयोजक रहेका यादवसहित अध्यक्षमण्डलका अन्य सदस्यहरुलाई भेटेर सो माग गरेका हुन् । दोस्रो तहका नेताहरुमा भने महाधिवेशन गराए पनि लोकतान्त्रिक विधिबाट हुनेमा शंका छ ।

लोकतान्त्रिक विधिबाट महाधिवेशन नभए त्यो पार्टीको हितमा नहुने भन्दै उनीहरुले राजनीतिक समितिको बैठकमा छलफल गरि अगाडि बढ्न ध्यानाकर्षण गराएका थिए ।

बैशाख ७, ८ र ९ गतेका लागि तोकिएको महाधिवेशन हुने वा नहुने भन्नेमा आफूहरुलाई शंका लागेको भन्दै केहि नेताहरुले राजनीतिक समितिको बैठक बसाएर त्यसबारे निर्णय लिइनुपर्नेमा जोड दिए ।
आवश्यक तयारी नै छैन
महाधिवेशन हुन दुई साता बाँकी रहेपनि हालसम्म कुनै तयारी देखिएको छैन । तर नेताहरुले तयारी बिनै तयारी भइरहेको प्रतिक्रिया दिँदै आएका छन् ।

एकताको एक वर्षभित्र महाधिवेशन गराउन नसकेपछि राजपाले विधान संशोधन गरि दुई वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने उल्लेख गर्यो । सोही अनुसार बैशाखमा महाधिवेशन गर्ने मिति तय गर्यो तर त्यो मितिमा पनि महाधिवेशन नहुने देखिएको पार्टीभित्रै गुनासो बढ्न थालेको हो ।

पार्टी स्रोतका अनुसार महाधिवेशनको दुई हप्ता बाँकी रहँदासम्म तल्लो कमिटीमा महाधिवेशन सम्पन्न हुन सकेको छैन । महाधिवेशनका लागि गाउँ, नगर, जिल्ला र प्रदेश समितिको अधिवेशन हुनुपर्छ तर हालसम्म कसैको अधिवेशन नभएको हो । यता, पार्टीमा पनि महाधिवेशन सम्बन्धि कुनै गतिविधि भइरहेको छैन । त्यसैले बैशाखमा महाधिवेशन हुने सम्भावना एकदमै न्युन रहेको राजपा नेपालका एक महासचिवले बताए ।

फेरि विधान संशोधन गर्नुपर्ने अवस्था आउन सक्ने

पार्टीले आगामी असार मसान्तसम्म पनि महाधिवेशन गराउन नसके पुनः विधान संशोधन गर्नुपर्ने अवस्था आउने बताइएको छ । पार्टी विधानको धारा ३१ को उपधारा १० अनुसार दुई वर्षभित्र महधिवेशन गरिसक्नुपर्ने उल्लेख छ । राजपाले २०७४ असार ३० गते निर्वाचन आयोगबाट पार्टी एकीकरणको मान्यता प्राप्त गरेको थियो ।

यसैबीच महाधिवेशनबारे निर्णय लिन सोमवार अध्यक्षमण्डलको बैठक बस्न लागेको पार्टी स्रोतले जनाएको छ ।