Bagmati Samachar Logo

भेनेजुएलामा हस्तक्षेप नगर्न अमेरिकालाई रुसको चेतावनी

१ फागुन । मस्को । अमेरिकाले भेनेजुएलाको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै रुसले असन्तुष्टि जनाएको छ । त्यसको साथै त्यसो नगर्न चेतावनी दिएको छ। रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भेनेजुएलामा हाल जारी राजनीतिक सङ्कटको विषयमा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाएका छन्।

रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले मङ्गलबार फोनमार्फत अमेरिकी विदेशमन्त्री माइक पोम्पेओलाई सो चेतावनी दिएको समाचार एजेन्सीहरुले बताएका छन् । रुसी विदेशमन्त्री लाभरोभले अमेरिकाले भेनेजुएलामा अझै हस्तक्षेप गर्ने हो भने उसले अन्तरर्राष्ट्रिय कानुन उल्लङ्घनको मुद्दा व्यहोर्नुपर्ने चेतावनी पनि दिएका थिए।
गत महिना गुइदोले आफूलाई भेनेजुएलाको राष्ट्रपति नै घोषणा गरेपछि अमेरिकालगायत अन्य देशले हुवाँ गुएइदोलाई नै समर्थन गरेका थिए। आफूले विश्वका शक्ति राष्ट्रको समर्थन प्राप्त गरेको उनको दाबी छ। राष्ट्रपति निकोलस मडुरोले निर्वाचनबाट निर्वाचित राष्ट्रपति हुन ।

यहाँका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मडुरोका विरुद्धमा प्रदर्शन गर्ने गरेका छन्। उनीहरुले आन्दोलनलाई थप चर्काउने चेतावनी दिँदै यहाँ निर्वाचनको माग गरेका थिए। उनीहरुले राष्ट्रपति मदुरोलाई तत्कालै निष्पक्ष निर्वाचन गर्न माग गरेका छन्। राष्ट्रपति मडुरोले भने विदेशीले अघि सारेको निर्वाचनको प्रस्तावलाई स्वीकार गर्न नसकिने बताइरहेका छन्।

विपक्षीले तत्काल निर्वाचनको वातावरण नबनाएमा मडुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएका छन् भने मडुरोले यहाँको सङ्कट समाधानका लागि निर्वाचनको प्रस्ताव मान्न सक्ने अनुमान कमै मात्र गरिएको छ। भेनेजुएलामा पछिल्लो समयमा राजनीतिक सङ्कट बढ्दो छ र उता गुएइदोले भने राष्ट्रपति मडुरोलाई अवैध दाबी गर्दै आएका छन्। एजेन्सी