Swornakshar Logo

मेरो प्रदेशमा भ्रष्टलाई ठाउँ छैनः मुख्यमन्त्री पौडेल

२८ माघ । हेटौडा । मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचार नियन्त्रण अभियान आफैंबाट शुरु गर्न अनुरोध गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औँ वार्षिकोत्सवमा उनले रकमको लेनदेन मात्र भ्रष्टाचार नभई तोकिएको समयभर कार्यालयमा रहेर कार्यसम्पादन नगर्नु पनि भ्रष्टाचार हो भने ।
मुख्यमन्त्री पौडेलले प्रदेश सरकार भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलतासहित प्रस्तुत हुने दाबी गरे । ‘हामी भ्रष्टप्रति अत्यन्तै निर्मम हुन्छौँ, प्रदेश नं ३ मा भ्रष्टाचारीको कुनै गुञ्जायस छैन’ उनले भने ।
सो अवसरमा प्रदेश नं ३ का प्रमुख सचिव आनन्दराज ढकालले सबैलाई ऐन नियमको परिधिभित्र रहेर काम गर्न अनुरोध गर्दै हामी सबैजना नीति नियमभित्र बाँधिएका छौँ, ऐनविपरीत कार्य गरे छानबिन र कारवाही हुन सक्दछ भन्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिए । उनले हाल भ्रष्टाचारीले प्रविधिको दुरुपयोग गरेर वा देशको सीमा पारी गएर आर्थिक लेनदेन गरेको पाइएकाले त्यसलाई तत्काल नियन्त्रण गर्न आवश्यक रहेको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख होमकला पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न प्रमुख आयुक्तको नेतृत्वमा अनुसन्धान टोली गठन भएको जानकारी दिँदै भ्रष्टाचार नियन्त्रणमा नागरिकको परिचालनमा जोड दिइएको बताए ।
कार्यक्रममा कवि निमेष निखिल, भ्रष्टाचार नियन्त्रण अभियन्ता भीम श्रेष्ठ र पत्रकार महासंघ प्रदेश नं ३ का अध्यक्ष प्रताप विष्टले तल्लो तहदेखि नै सफाइ अभियान चलाउनुपर्ने खाँचो औँल्याए ।