Swornakshar Logo

‘मेरो गाउँ, मेरो ठाउँ’को भिडियो च्यालेन्ज हुने

२० माघ । हेटौँडा। नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारमा सहयोग गर्ने उद्धेश्यका साथ देशका नयाँ पर्यटकिय गन्तव्यको प्रवर्द्धन गर्न भिडियो च्यालेन्ज अभियान सुरु गरेको छ । वी विल राइज फाउन्डेसन (हामी उठ्ने छौं) ले ‘मेरो गाउँ, मेरो ठाउँ’ नामक भिडियो च्यालेन्जको घोषँणा गरेको हो ।


आज हेटौँडाको न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गरि आयोजक सस्थाका फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले कार्यक्रमले नेपालको पर्यटनलाई सघाउ पुगाउने बताए ।
देशैभरबाट अहिले सम्म प्रचारमा नआएका, नयाँ र ओझेलमा परेका पर्यटकिय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले भिडियो च्यालेन्ज गर्न लागेको श्रेष्ठले बताए । ‘पर्यटकीय क्षेत्रको सम्भावना भएर पनि अगाडि आउन नसकेका विषय, कुनै जात, जातीको पहिचान, संस्कृति वा स्थान विशेषका गतिविधिको प्रवर्द्धन गर्न फाउन्डेसनले देशैभरबाट पाँच मिनेटसम्मको भिडियो संकलन गर्नेछ’, श्रेष्ठले भने।

पत्रकार सम्मेलनमा बोल्दै सस्थाका अनुप बरालले कार्यक्रमले नेपालको पर्यटन क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने बताए ।
चर्चित पर्यटकीय स्थलमा रहेका तर ओझेलमा परेका विषयदेखि कला÷संस्कृति, गन्तव्य तथा क्षेत्रको बारेमा बनाइएको विभिन्न भिडियोको यही जनवरीदेखि अप्रिलभित्र संकलन गर्ने काम फाउन्डेसनले गरिरहेको छ।
भिडियो संकलनका निम्ति फाउन्डेसनले ‘जब चिनिने छ तपाईको गाउँठाउँ तब खुल्ने छ तपाईको आफ्नै पहिचान, मौका यही हो आफ्नो गाउँठाउँ संसारभर चिनाउने, मेरो गाउँ मेरो ठाउँ’ भन्ने नारालाई समाजका प्रतिष्ठित व्यक्तिबाट प्रचार गरिरहेको छ
यस्तो छ भिडियो च्यालेन्ज अभियान

देशैभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउने छन्। प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट भिडियोले एक लाख रुपैयाँ नगदसहितको पुरस्कार पनि पाउने छ। दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँको पुरस्कारको पाउँछन्। पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियोले छनोट हुने र यसले पनि एक लाख रुपैयाँकै पुरस्कार पाउने छ। साथै, उत्कृष्ट सम्पादन र लेखनले भिडियो पनि छनोट र यसलाई भने २५र२५ हजार रुपैयाँको पुरस्कार दिइने फाउन्डेसनले जानकारी दिएको छ। उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीबाट दुई लाख रुपैयाँको एकेडेमिक कोर्सको ज्ञान पनि पाउने भएका छन्।

कुनै पनि भिडियो नदोहोरियोस् र कसले कुन ठाउँ वा विषय उठान गर्दैछ भन्ने जानकारीका निम्ति फाउन्डेसनको वेवसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी (डब्लुडब्लुडब्लु डट डब्लुडब्लु डट ओआरजी डट एनपी) मार्फत अनलाइन फम भर्नुपर्ने छ। यसपछि आफूले तयार पारेको भिडियो भने गुगल ड्राइभमार्फत संकलन गर्न सकिने छ। यसको प्रवर्द्धनको निम्ति नेपाल पर्यटन बोर्डले सहयोगी भूमिका निर्वाह गरेको छ ।