Bagmati Samachar Logo

राष्ट्रपति भण्डारी ऐतिहासिक मकवानपुरगढी किल्लामा

१० माघ । हेटौडा । राष्ट्रपति विद्यादेवी भण्डारीले गोर्खाली सेनाले अंगे्रेज फौजलाई पराजित गरेको ऐतिहासिक किल्ला मकवानपुरगढीमा नेपालको राष्ट्रिय झण्डातोलन तथा गढीमा निर्माण गरिएको संघीय नेपालको नक्सा समेत अनावरण गरेकी छन्।वि.सं. १८१९ माघ १० गते तत्कालीन अंग्रेज फौजलाई सोही किल्लाबाट पराजित गरिएको सम्झनामा मकवानपुरगढी किल्लामा आयोजित विजयोत्सव समारोहमा भण्डारी सहभागी भएकि हुन । भण्डारीले राष्ट्रिय अखण्डता र गौरवमय इतिहास बोकेको गढी किल्लाको संरक्षणमा जोड दिएकी छन्।

राष्ट्रपति भण्डारीलाई नेपाली सेनाले पृथ्वीनारायण शाहको पालाको शैलीमा सलामी अर्पण गरेका थिए। ‘नेपालको एकीकरण, स्वाधीनता र भौगोलिक अखण्डता सुदृढ गर्ने महान अभियान बोकेको पवित्र गढी किल्लाको संरक्षण जरुरी रहेको छ।’, राष्ट्रपति भण्डारीले नेपाली सेनाको संगठन निर्माण गर्ने आधार खडा र वीरहरुको गाथा गाउने पवित्र स्थल मकवानपुर गढी किल्ला भएको दाबी गरिन्। राष्ट्रपति भण्डारीले चुरे क्षेत्रभित्र पर्ने यस स्थानको ऐतिहासिक र पुरातात्विक विषयलाई समेटर संरक्षण गर्दै अगाडि बढ्न सकेको खण्डमा पर्यापर्यटन विकासमा टेवा पुग्ने बताउँदै दिगो विकासको सिद्धान्तलाई आत्मसाथ गर्दै गढीको विकासमा लाग्न सुझाव दिइन्। राष्ट्रपति भण्डारीले विजय उत्सवको सन्दर्भ पारेर आयोजित हाफ म्यारथनका विजेता तथा उपविजेतालाई नगद तथा प्रमाणपत्र समेत वितरण गर्नुभएको थियो। विजयोत्सवमा ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइराला, ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष रघुनाथ खुलाल तथा गढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले गढीको इतिहासबारे चर्चा गरेका थिए। नेपालको महत्वपूर्ण इतिहाससँग जोडिएको मकवानपुर गढीमा केही वर्षदेखि माघ १० गते विजयोत्सव मनाउन थालिएको हो। देशकै सबैभन्दा ठूलो गढीको रुपमा रहेको मकवानपुरगढी करिब १ सय ३५ रोपनी क्षेत्रमा फैलिएको छ।