Swornakshar Logo

कांग्रेस सांसदहरुले घेरे शिक्षामन्त्री पोखरेललाई

८ माघ । काठमाडौँ । प्रतिनिधिसभामा कांग्रेसका सांसदहरुले रोष्ट्रम घेराउ गरेपछि आजको बैठक पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुद् सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक संसद्‌मा पेश गर्न अनुमति दिएका थिए ।
सभामुखले समय दिएपछि नेकपा प्रमुख सचेतक देव गुरुङकोपछि लागेर मन्त्री पोखरेल रोष्टममा जाँदै गर्दा प्रतिपक्षी सांसदले रोकेका थिए । मन्त्री नै प्रतिपक्षी सांसदको कब्जामा परेपछि सभामुख महराले संसदको बैठक दोस्रो पटक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

बैठकको शुरुमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रकाशमान सिंहले सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा स्थापित श्वासप्रश्वास केन्द्र र बाँकेमा स्थापित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल केन्द्रीय सरकारअन्तर्गत सञ्चालन हुने निर्णय भएको जानकारी संसद्मा नआएसम्म बैठक चल्न नसक्ने बताउनुभएको थियो । उहाँले गोविन्द केसीसँग सरकारकाले गरेको सहमति कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिनुभएको थियो ।

सांसद सिंहले आफ्ना विचार राखिसकेपछि सभामुख महराले बैठकको कारवाही अघि बढाउन लाग्दा काङ्गे्रस सांसदले रोष्ट्रम घेराउ गरेका हुन् ।

संसद्‍मा आज चिकित्शा शिक्षा विधेयक पेश गर्ने कार्यसूची थियो । मंगलवार बसेको प्रतिनिधिसभाको बैठक पनि कांग्रेसले अवरुद्ध गरेको थियो ।